Bagmati Samachar Logo

अखिल क्रान्तिकारीको सहइन्चार्ज बनिन् पञ्चा सिंह

काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववीयु क्रान्तिकारीको इन्चार्जमा हिमाल शर्माले निरन्तरता पाएका छन् । सहइन्चार्जको जिम्मेवारी भने निवर्तमान अध्यक्ष पञ्चा सिंहलाई दिएको छ । हालै बसेको माओवादीको पदाधिकारी बैठकले सिंहलाई सहइन्चार्ज बनाएको हो ।

सिंहले अखिल क्रान्तिकारीको इतिहासमा पहिलोपटक महिलाबाट अध्यक्ष हुने अवसर पाएकी थिइन् । कालीकोटमा जन्मिएकी सिंह २०५७ सालमा १४ वर्षको उमेरमा भूमिगत भएकी थिइन् । ‘जनयुद्ध’मा उनी जनकलाकारको रूपमा एक वर्षसम्म काम गरेपछि विद्यार्थी संगठनमा जोडिएकी थिइन् ।

उनी २०६३ सालको अखिल क्रान्तिकारीको १७औँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य भएकी थिइन् । २०६५ सालमा एकता केन्द्र मसालसँग एकता भएपछि विद्यार्थी संगठनको सचिवालय सदस्यमा पुगेकी थिइन् ।

२०६७ सालमा भेरी–कर्णाली विद्यार्थी संगठनको संयोजक हुँदै २०६९ सालमा इन्चार्ज भएकी थिइन् । २०७१ सालमा अखिल क्रान्तिकारीको अध्यक्षमा रमेश मल्ल चुनिएपछि उनी सचिव भएकी थिइन् ।

२०७३ सालमा १० माओवादी घटकबीच एकता भएपछि विद्यार्थी संगठनको संयोजकमा नरेन्द्र न्यौपाने चुनिए भने सिंह उपाध्यक्ष भइन् । यसअघि अखिल क्रान्तिकारीको २१औँ राष्ट्रिय सम्मेलनमा सबैभन्दा धेरै भोट ल्याएर उनी उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

अखिल क्रान्तिकारीको २२औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्ष भएकी सिंहले अहिले त्यही संगठनको सहइन्चार्जको जिम्मेवारी पाएकी हुन् ।