Bagmati Samachar Logo

सानदार मःम पसलमा आगलागी : ११ ‘स्टाफ’ घाइते, दुईजनाको अवस्था गम्भीर

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा आगलागी भएको छ । आज बिहीबार बिहान ग्यास चुहावट भई आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।

आगलागीमा परी ११ जना घाइते भएका छन् । उपचारका निम्ति उनीहरूलाई कीर्तिपुर बर्न अस्पतालमा पठाइएको परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए ।

घाइते भएका सबै ११ जना नै सोही मःम पसलका कर्मचारी रहेका उनले बताए । उनले भने,‘घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।’

घाइतेलाई सुरुमा हिमाल अस्पतालमा लगिएको थियो । त्यहाँबाट कीर्तिपुर पठाइएको हो । आगलागी नियन्त्रणमा लिन सुरक्षाकर्मीको टोली खटिएको थियो ।