Bagmati Samachar Logo

ठगीमा जेल बसेर छुटेको एक वर्ष नपुग्दै फेरि ठगिरहेको भेटिए २१ वर्षीय युवक

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले डिजिटल वालेटहरूको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

उनी गतवर्ष मात्रै ठगी आरोपमै १० महिना जेल बसेर रिहा भएका थिए। तर, छुटेको एक वर्षभित्रै उनी पुनः ठगेको आरोपमै पक्राउ परेको सीआईबीका प्रवक्ता एसपी सुधीरराज शाहीले जानकारी दिए।

पक्राउ पर्नेमा रौतहटको माधवनारायण गाउँपालिका २ का २१ वर्षीय शुभम साह हुन् ।

उनी नेपालमा गैरकानुनी क्रिप्टो तथा अनलाइन स्क्याममा संलग्न रहेको सीआईबीको दाबी छ। उनी अरु चार वटा अनलाइन ठगीको मुद्दामा पनि फरार रहेको पाइएको प्रहरीले जानकारी दिएको छ।

साह भक्तपुरको सूर्यविनायक नगरपालिका २ बालकोट बस्दै आएका छन्। उनको साथबाट सीआईबीले २ वटा मोबाइल, १४ थान नेपाली सिमकार्ड र २ थान भारतीय सिमकार्ड पनि बरामद भएको छ।

उनले विभिन्न डिजिटल वालेटहरूको आधिकारिक कर्मचारी हुँ भन्दै वालेट आईडी बैंक खातासँग लिंकअप तथा खाता नवीकरण, केवाईसी फारम, स्टेटमेन्ट भेरिफाइ जस्ता काम गरिदिन्छु भन्दै ठगी गरेको खुलेको छ।

यसरी उनले पीडितकै मोबाइल नम्बरमा डिजिटल वालेटका ओटीपी कोर्ड पठाउने र कोड मागेर पहुँच पुर्‍याउने गरेको पाइएको छ। यसरी ह्याक गरेर उनले विभिन्न बैंक खाताहरूमा रकम ट्रान्सफर गरेको पाइएको छ। अनलाइनबाट ठगी गरेको रकम टेलिग्राम एप मार्फत यूएसडीटी, बिनान्सलगायतको क्रिप्टो करेन्सी साट्न प्रयोग गरेको पाइएको छ।