माओवादी हेडक्वार्टरमा व्यापक हेरफेर

काठमाडौं । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयदेखि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा हेरेफेर भएको छ । सोमबार बसेको पदाधिकारीको बैठकले केन्द्रीय कार्यालय प्रमुखदेखि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयमा फेरबदल भएको हो।
पदाधिकारी बैठकले पेरिसडाँडामा रहेको केन्द्रीय कार्यालय प्रमुखमा स्थायी समिति सदस्य गणेशमान पुनलाई ल्याउने निर्णय गरेको छ । उनी माओवादी केन्द्रको युवा संगठन वाईसीएलका पूर्वअध्यक्ष एवं सांसदसमेत हुन्।
हाल कार्यालय प्रमुखमा पार्टी कोषाध्यक्ष श्रीराम ढकाल थिए। ढकाल विदेशमा रहेकाले पुनलाई प्रमुख बनाउने निर्णय भएको ती पदाधिकारी बताउँछन्।
यद्यपि, यससम्बन्धी निर्णय अन्तरपार्टी निर्देशनमार्फत सार्वजनिक गर्ने उनले बताए। यस्तै, प्रचण्डको सचिवालयमा रहेका रमेश मल्ललाई विशेष प्रदेश सहइन्चार्ज बनाउने निर्णय पनि भएको छ।
अब प्रचण्डको सचिवालय हेर्ने जिम्मा पत्रकार गोविन्द आचार्यले पाएका छन् । ‘केन्द्रीय कार्यालय र अध्यक्षको सचिवालय परिवर्तन हुने निश्चित भइसकेको छ,’ एक पदाधिकारीले भने, ‘अब रमेशजीको ठाउँमा गोविन्दजी जानुहुन्छ। केन्द्रीय कार्यालयको मुख्य सचिव रहनुभएका श्रीराम ढकालजी केही समयका लागि विदा मागेर वैदेशिक भ्रमणमा जानुभएको छ। उहाँको ठाउँमा गणेशमानजीलाई लैजाने कुरा भएको छ।’
प्रतिक्रिया दिनुहोस्: