माओवादी युवा नेतृ लक्ष्मीकन्या बुढाको संकल्प यात्रा पुस्तक विमोचन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा प्रगतिशिल लेखिका लक्ष्मीकन्या बुढाद्वारा लिखित पुस्तक ‘संकल्प यात्रा’ विमोचन भएको छ।
काठमाडौंमा समाजवादी मोर्चा नेपालद्वारा प्रज्ञा भवन कमलादी आयोजित ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभारः विचार गोष्ठी’ कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका महासचिव नेत्रविक्रम चन्द, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले संयुक्तरुपमा संकल्प यात्रा पुस्तक विमोचन गरेका थिए ।
अनुभूति संस्मरण पुस्तक ‘संकल्प यात्रा’ विमोचन गर्दै अध्यक्ष दाहालले कर्णालीको विकट भूगोलमा जन्मेर मुलुकको व्यवस्था परिवर्तनका लागि आफ्नो उर्जाशील जीवन संघर्ष र आन्दोलनमा बिताएकी लेखिका बुढाले सामाजिक न्याय र समानताका पक्षमा कलम चलाउँदै आएको बताए ।
नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले सानै उमेरमा जनयुद्धमा होमिएकी कर्णालीको छोरीले संघर्ष र आन्दोलनको मर्मलाई पुस्तकमार्फत उल्लेख गर्नु सह्रानीय काम भएको बताए । लेखिकाले माओवादी आन्दोलनले नेपालको उत्पीडित जाति, लिंग, वर्ग र क्षेत्रलाई सामाजिक न्याय र समानता दिलाउन खेलेको भूमिका तथा आफैपनि समकालीन युद्धमा लागेर आजको व्यवस्था ल्याउन गरेको योगदान, समर्पणका साथै यात्रा निर्वाध अगाडि बढाउने संकल्प गर्नुले नेपाली महिला नेतृत्वको क्षमता विकास भएको बताउँदै प्रवक्ता विश्वकर्माले उनको थप प्रगतिको कामना गरे ।
लेखिका लक्ष्मीकन्या बुढाले न्याय र समानतासहित सुन्दर एवं सभ्य समाज स्थापनाका लागि सामुहिक स्वार्थमा जीवन समर्पण गरिएको र त्यसको उद्देश्य पुरा नहुन्जेल यात्रा निरन्तर रहने ‘संकल्प यात्रा’ पुस्तकको मुख्य सार रहेको बताइन् । लेखिका बुढाको यो पाँचौ कृति हो । यस अघि बुढाले कर्णालीमा महिला भाग १, कर्णालीमा महिला भाग २ , मुक्ति अभियान र छरिएका खुसीहरु नामक पुस्तक प्रकाशन गरिसकेकी छिन्।
राजनीतिका साथै बुढाले लेखन कार्यलाई पनि अगाढि बढाउदै लगेकी छिन् । बुढा सानै उमेरदेखि माओवादी जनयुद्धमा हिडेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्: