Bagmati Samachar Logo

अर्जुनचौपारी गाउँपालिका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका पूर्वअध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । स्थानीय बजार क्षेत्रको बाटो ढलान गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै अख्यिारले उनीहरुविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार तत्कालीन अध्यक्ष अर्याल, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतम, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ, तत्कालीन इन्जिनियरहरु नवीन थापा र सुदीप आचार्य, तत्कालीन सव इन्जिनियर सूर्यप्रसाद पौडेल, सदरमुकाम व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्णप्रसाद काफ्ले र कोषाध्यक्ष हिमकुमारी केसीविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

साथै तल्लो बजार नाली तथा ढलान सडक निर्माण उपभोक्त समितिका अध्यक्ष मंगलदेवी थापा मगर, सचिव विष्णुकुमारी विक र कोषाध्यक्ष एकनारायण देवकोटाविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दर्ता गरिएको प्रवक्ता घिमिरेले बताए ।

तत्कालीन अध्यक्ष अर्यालसँग ३५ लाख २९ हजार ३ सय ३१ रूपैयाँ बिगो र कैद सजाय मागदाबी गरिएको छ ।

अर्जुनचौपारी गाउँपालिका– १ मा आ.व. २०७५ ०७६ र ७६ ७७ मा स्थानीय बजार क्षेत्रको ढलान बाटोमा गुणस्तरहीन काम गरेको र ७६र७७ मा गाउँपालिकाबाट सम्पन्न गरिएको तल्लो बजार नाला तथा ढलान भत्किएकाले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको प्रवक्त घिमिरेको भनाइ छ ।