Bagmati Samachar Logo

प्याब्सन नुवाकोटको अध्यक्षमा पुरुषोत्तम अधिकारी

नुवाकोट । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटको अध्यक्षमा पुरुषोत्तम अधिकारी निर्वाचित भएका छन् ।अधिकारी नुवाकोट ग्लोरि स्कुलका संचालक हुन्
शनिवार विदुरमा भएको प्याब्सन नुवाकोटको ९ औ अधिवेशनले अधिकारीको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गराएको हो । समितिको उपाध्यक्ष राजन खतिवडा, सचिवमा रामजी भट्टर कोषाध्यक्षमा रामशरण रिमाल निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा गगन कल्याण प्रधान, यादव अधिकारी र गोबिन्द प्याकुरेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनमा सहभागिहरुले राज्यले सामुदायिक र निजि विद्यालयलाई हेर्ने दृष्टिकोणमा समानता नभएको भन्दै दुख व्यत्त गरेका थिए । उनीहरुले राज्यको सबै निति नियममा रहेर काम गर्दा समेत राज्यले हेला गरेको अनुभव सुनाएका थिए ।

कार्यक्रममा सहभागीहरुले शिक्षा क्षेत्रमा भएको राजनीतिक हस्तक्षेप, शैक्षिक गुणस्तरमा देखिएको ह्रासका कारण गुणात्मक शिक्षा लिने नाममा नेपाली विद्यार्थी र पूँजी बाहिरिने क्रम बढेकाले शिक्षा ऐन, कानून तर्जुमा गर्दा यी समस्या समाधानमा ध्यान दिन सरोकारवालाको ध्यानाकर्षण गराए ।
संयुक्त राष्ट्रसङ्घीय बडापत्र १९८९ मा उल्लेखित ‘राइट टु च्वाइस अफ एजुकेशन’ र नेपालको संविधान धारा ४४ को प्रावधान विपरीत सामुदायिक विद्यालयमा पढ्नैपर्ने बाध्यात्मक अवस्था सिर्जना नगर्न उनीहरुले जोड दिए ।

नुवाकोट जिल्लामा रहेका संस्थागत विद्यालयहरु मध्ये सुर्यगढी गाउँपालिका वडा नं ५ मा रहेको ग्लोरी सेकेन्डरी बोर्डिङ स्कुल उत्कृष्ट बन्न सफल भएको छ । निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नुवाकोटको ९ औं जिल्ला अधिवेशनको अवसरमा उक्त विद्यालयलाई माध्यमिक तहमा उत्कृष्ट विद्यालयका रुपमा पुरस्कृत गरिएको हो ।

उक्त विद्यालय नवनिर्वाचत अध्यक्ष अधिकारीले सञ्चालन गर्दै आउनु भएको छ । अधिवशेनका अवसरमा जिल्लाभरका संस्थागत विद्यालयहरु बिच विभिन्न विधाका शैक्षिक गतिविधि तथा अतिरिक्त क्रियाकलाप र प्याब्सनका अन्य गतिविधिमा सक्रिय सहभागीता र रचनात्मक सहयोगका आधारमा सर्वोत्कृष्ट विद्यालयको छनौट गर्दै पुरस्कार प्रदान गरिएको थियो ।

प्याब्सनका नवनिर्वाचित अध्यक्ष पुरुषोत्तम अधिकारीका अनुसार सर्वोत्कृष्ट विद्यालयका रुपमा नुवाकोट ग्लोरी सेकेन्डरी बोर्डिङ स्कुल सुर्यगढी ५ माध्यमिक तह र सामुदायिक विद्या मन्दिर विदुर ३ आधारभूत तहलाई पुरस्कृत गरिएको छ ।