Bagmati Samachar Logo

रविलाई बुटवलबाट पोखरा लगियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देहीको बुटवलबाट कास्कीको पोखरा लगिएको छ।

बुटवलको सुप्रिम सहकारीको अनुसन्धानका लागि उनलाई गत मंगलबार पोखराबाट भैरहवा पुर्‍याइएको थियो। त्यहाँको बयान सकेर प्रहरीले शुक्रबार पुनः पोखरा लगेको हो।

पोखरामा हिरासतमा लग्नु अघि रविको स्वास्थ्य परीक्षण गरिएको छ। उनी पोखरास्थित जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा बस्नेछन्।

लामिछाने प्रबन्ध निर्देशक रहेका बेला गोर्खा मिडियामा सूर्यदर्शनसँगै सुप्रिम सहकारीबाट रकम ठगी गरेको आरोप छ।

सुप्रिम सहकारीको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा सारेर सहकारी कानुनविपरीत खर्च गरिएको आरोप छ।

लामिछानेको नाममा १ करोड ९६ लाख रुपैयाँ लगिएको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।