अध्यक्षकाे टिकट पाउने भएपछि नेकपा एसका नेता एमाले प्रवेश
काठमाडाैँ । दैलेखका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जंगबहादुर शाही नेकपा एमाले फर्केका छन् । शाही नेकपा एकीकृति समाजवादी छोडेर एमालेमा फर्केका छन् । मंगष्लबार दैलेखको एमाले पार्टी कार्यालयमा एक कार्यक्रम गरेर कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले शाहीलाई एमाले प्रवेश गराएका छन् ।
दैलेखको महाबु गाउँपालिका निवासी शाहीलाई त्यहि पालिकामा मंसिर १६ गते हुने उपनिर्वाचनमा एमालेले उम्मेदवार बनाउने गरी पार्टी प्रवेश गराएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । उनले भने,‘उहाँलाई एमालेले उपनिर्वाचनमा गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाउने तयारी गरेको छ । उहाँ आज एमालेमा फर्कनु भएको छ । एमालेको महाबु गाउँपालिकाको उपनिर्वाचनको अध्यक्षको उम्मेदवार बन्नु हुन्छ ।’
शाहि एमालेको तर्फबाट २०७४को स्थानीय तहको निर्वाचनमा महाबु गाउँपालिकाको अध्यक्ष विजयी भएका थिए । २०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा साविकको काँसिकाँध गाविसको उपाध्यक्षमा निर्वाचित भएका थिए ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा पनि नेकपा एसको तर्फमाट उम्मेदवार बनेका शाहीले २२सय ६८ मत ल्याएका थिए ।
जिल्लामा लोकिप्रीय नेताको छवि बनाएका शाहीलाई एमालेले उम्मेदवार बनाउनको लागि नै कुरेर बसेकोे थियो । शाही नै त्यहाँको लोकिप्रीय नेता भएकाले एमालेले पार्टीमा ल्याएर टिकट दिन थालेको रिजालले बताए । उनले भने,‘उहाँ एमालेको पुरानो संघर्ष गरेको नेता हुनु हुन्थ्यो । पार्टी विभाजन हुदा नेकपा एस तर्फ लाग्नु भयो । उहाँलाई पहिला नै एमालेमा ल्याउने तयारी भएको थियो । आज उहाँ एमालेमा फर्कनु भएको छ । एमालेको २०७६ सालमा निर्वाचित जिल्ला सचिव हुनु भएको हो ।’
कार्तिक २४ गते बसेको एमाले सचिवालय बैठकले ३३ ठाउँका उम्मेदवारको नामावली तय गरेको थियो । तर दैलेखको महावुमा भने शाहीसँग छलफल गरीरहेकोले नाम टुंग्याएको थिएन । अब महावुमा शाहीलाई टिकट दिने छ ।
दैलेखको महावु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको हृदयघातका कारण २०७९ माघ २७ गते निधन भएको थियो । गुरुङ नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा निर्वाचित भएका थिए ।
२०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसका गुरुङले नेकपा एमालेका हरिप्रसाद उपाध्यायलाई पराजित गरेका थिए । गुरुङले २ हजार ९ सय ७९ मत प्राप्त ल्याएका थिए भने उपाध्यायले २ हजार ५ सय १९ मत ल्याएका थिए ।
भरखर बनेको नेकपा एसमा हुदा पनि २२ सय भन्दा बढी मत ल्याएका शाहीलाई एमालेले टिकट दिनुको कारण उनको लोकप्रियता रहेको एमाले दैलेखका एक नेता बताउछन् ।
संयोग नै मान्नु पर्छ नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेशको प्रथम अधिवेशन प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आजबाट सुरु भएको छ । उक्त अधिवेशनको उद्घाटन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल कर्णालीको सुर्खेत पुगेका छन् । उनको पार्टीका केन्द्रीय सदस्य शाही भने एमाले प्रवेश गरेका छन् ।
उपनिर्वाचनको लागि गाउँपालिकाको अध्यक्ष पदका लागि माओवादी केन्द्रले जंगबहादुर बराल र कांग्रेसले नेपाली झलकबहादुर भण्डारी उम्मेदवार बनाइसकेको छ । एमालेले शाहीलाई उम्मेदवार बनाउने पक्कापक्कि भएको छ ।
प्रतिक्रिया दिनुहोस्: