Bagmati Samachar Logo

हेटौंडामा ट्यांकरको टायर पड्किदा एक जनाको मृत्यु

काठमाडौं । मकवानपुरको हेटौंडामा ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्‍याङमा उक्त घटना हुदा अन्य पाँच जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भारत घर भएका ३४ वर्षीय मोहम्मद ऐजाजले नै टायर मर्मत पसल सञ्चालन गदै आएका थिए ।

गएराति करिब एक बजे मधेश प्रदेश ०३–००२ ख ०३०० नम्बरको पेट्रोल बोकेको ट्यांकरको टायरमा हावा भर्ने क्रममा पड्किएको थियो । मोहम्मद ऐजाजको टायर पड्कीदा टाउकोमा चोट लागेर गम्भिर घाइते भएका थिए । उनको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

सो घटनामा परी टायर मर्मत पसलमा काम गर्ने पर्साको धोबिनी गाउँपालिकाका १८ वर्षीय जाबिर हवारी, हेटौंडा–११ का ३९ वर्षीय देवान लामा, हेटौंडा–११ कै ४७ वर्षीय मोहनलाल दुलाल, धादिङको धुनिबेशी नगरपालिका–२ का २३ वर्षीय उत्तम बस्नेत र धादिङको थाक्रे गाउँपालिका–८ का लक्ष्मण थापा घाइते भएका छन् । लामाका चुरे हिल अस्पतालमा उपचार भइरहेको छ भने अन्य चार जनाको उपचारपछि डिस्चार्ज भएको प्रहरीले जानकारी दिएको छ ।