एमाले सचिवालय बैठकका निर्णय : लिलाबल्लभलाई हटाउनेदेखि जागरणसभा गर्नेसम्म
काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपा एमाले)को सचिवालय बैठकले नेता लिल्लाबल्लभ अधिकारीलाई सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । शनिवार काठमाडौँमा बसेको सचिवालय बैठकले कोशी प्रदेश कमिटीको निर्णय अनुमोदन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
जापानमा मानव तस्करीमा संलग्नताको आरोप लागेपछि घिमिरेले मन्त्री र पार्टीको जिम्मेवारीबाट राजीनामा गरिसकेका छन् ।
एमालेले आउदो मंसिर ७ गते काठमाडौँमा जागरण सभा गर्ने भएको छ । सचिवालय बैठकले आउँदो महिना जागरण सभा गर्ने निर्णय गरेको छ ।
त्यसका साथै बैठकले समसामयिक राजनीति, स्थानीय तहको उपनिर्वाचन लगायतका विषयमा छलफल गरी विभिन्न निर्णय गरेको हो।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार बैठकले विश्व राजनीति र त्यसले नेपालको हितमा पार्ने अनुकूलता र चुनौतीहरूबारे बैठकको सुरूमा छलफल भएको थियो।
अमेरिकामा भर्खरै सम्पन्न भएको राष्ट्रपति निर्वाचन, रूसमा केही समयअघि भएको ब्रिक्स समिट र अन्तर्राष्ट्रिय परिस्थितिमा आएका केही नयाँ घटनाक्रमहरूले नेपालको राष्ट्रिय हितमा पार्ने अनुकूलता र चुनौतीहरू लगायतका विषयमा समीक्षा भएको ज्ञवालीले जानकारी दिए।
‘सरकारले बदलिँदो विश्व राजनीतिको वहाबलाई ध्यानमा राख्दै राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर दुवै छिमेकीसँग असल, सन्तुलित र राष्ट्रिय हितमाथि आधारित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा जोड दिएका छौं,’ बैठकको निर्णय सुनाउँदै ज्ञवालीले भने।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे पनि छलफल भएको छ।आगामी डिसेम्बर पहिलो साता हुने भ्रमणलाई अधिकतम राष्ट्रिय हितमा रूपान्तरित गर्नका लागि सरकारलाई सफलता प्राप्त होस् भन्ने सुभेच्छा बैठकले व्यक्त गरेको उपमहासचिव ज्ञवालीले बताए।
ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमण छोटो हुने पनि बताए।
‘दुईपक्षीय भेटघाट र वार्ताहरू छोट्याएर फर्कनुहुन्छ। मूलतः विगतमा चिनियाँ राष्ट्रपति नेपाल आउँदा भएका उच्चस्तरीय समझदारी र नेपालका राष्ट्रपति र प्रधानमन्त्रीज्यूले चीन भ्रमण गर्दा गर्नुभएका समझदारीको कार्यान्वयनमै जोड हुनेछ। त्यसका अलाबा द्वीपक्षीय हितका अन्य विषयमा पनि केन्द्रीत हुनेछ,’ उनले भने।
सचिवाले बैठकले सरकारको चार महिने कार्यकालको समीक्षा पनि गरेको छ।
यस अवधिमा सरकारले आधारभुत रूपमा ठीक ढंगले काम गर्दै अगाडि बढिरहेको उपमहासचिव ज्ञवालीले बताए।
बैठकमा एमाले कांग्रेस बीचको समझदारीलाई अझै बढी प्रगाढ बनाउन र काममा अझ बढी समन्वय ल्याउन दुई दलबीच संयन्त्र बनेपछि विश्वासको वातावरणलाई अझै सुदृढ गर्दै लैजान सरकारलाई सफलता प्राप्त होस् भन्ने कुरामा पनि जोड दिएको उनले बताए ।
बैठकको दोस्रो निर्णय आगामी मंसिर १६ गते हुने ४४ वटा स्थानीय तहमा हुने उपनिर्वाचनसँग सम्बन्धित छ।
उपनिर्वाचन हुने स्थानीय तहहरूले सिफारिस गरेबमोजिम प्रदेश कमिटीले उम्मेदवारको टुंगो लगाइसकेको छ। प्रदेश कमिटीले निर्णय गरेर पठाएको उम्मेदवारहरूको नाम सचिवालय बैठकले अनुमोदन गरेको छ। त्यससँगै सिंगो पार्टी पंक्तिलाई उपनिर्वाचनमा एमालेको विजयका निम्ति सम्पूर्ण सामर्थ्यका साथ परिचालित हुन आह्वान पनि गरिएको ज्ञवालीले बताए।
प्रतिक्रिया दिनुहोस्: