Bagmati Samachar Logo

एमाले नेता कार्यकर्ताको कार्यशैली परिवर्तन गर्नु पर्छ : मन्त्री गुरु

काठमाडौं । नेकपा एमालेको उपमहासचिव तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले एमालेका नेता कार्यकर्ताको कार्यशैलीमा सुधार गर्नुपर्ने बताएका छन् ।
गुरुङले पार्टीभित्र भएका कमीकमजोरीलाई सच्चाउदै अघि बढ्नुपर्ने र कार्यकर्ताहरुलाई देशको शासन व्यवस्थाका बारेमा राम्रोसंग प्रशिक्षण दिनुपर्ने धारणा राखे ।

एमाले बागमती प्रदेश सम्पर्क समितिद्वारा आयोजित देउसी भैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको पारा परिवर्तन हुनुपर्ने बताए ।

त्यस्तै, उनले छिटै नयाँ प्रमुख नियुक्त गरेर सुरक्षण मुद्रण केन्द्रलाई अघि बढाउने बताए ।

गुरुङले केन्द्रका यसअघिका प्रमुख भ्रष्टाचार प्रकरणमा मुछिएकाले नयाँ प्रमुख खोजेर केन्द्रलाई अघि बढाउने बताएका हुन् । उनले नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, अन्तःशुल्क स्टिकर लगायत केन्द्रबाट छपाई गर्न सके देशको अरवौं रकम जोगिने जिकिर गरे ।

समाजवादको लक्ष्य पुरा गर्नका लागि सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिँदै सरकार अघि बढिरहेको उनले बताए । मन्त्री गुरुङले भ्रष्टाचारलाई अन्त्य गर्दै सुशासन स्थापीत गर्न सरकारको ध्यान केन्द्रीत रहेको पनि बताए ।