Bagmati Samachar Logo

एमाले कस्तो बनाउने भन्ने चिन्ता अरू पार्टीहरूले लिनुपर्दैन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले कस्तो बनाउने भन्ने बारेमा अरु पार्टीहरुले चिन्ता लिनुनपर्ने बताएका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर महासचिव पोखरेलले एमालेले गरेको निर्णयको आलोचना र चिन्ता अरू पार्टीका नेता कार्यकर्ताहरूले लिनुनपर्ने बताएका हुन्।

एमालेले २५ असोजमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङबाट १० रोपनी १४ आना जग्गा दानमा लिएपछि पार्टी भित्र र बाहिर आलोचना भइरहेको छ।

महासचिव पोखरेलले पनि फरक पार्टीका नेता कार्यकर्ताहरूले एमालेको भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक संजालमा अनेकन् सुझाव दिइरहेका छन् र उस्ले गरेका निर्णयहरुको कटुआलोचना गरिरहेको बताएका छन्। उनले एमालेलाई कस्तो बनाउने भन्ने विषय एमालेजनलाई नै छाडिदिन आग्रह समेत गरेका छन्।

उनले भनेका छन्, ‘राजनीति गर्नेहरुले आ–आफ्नो पार्टी राम्रो बनाउन लागेत अरुका बारेमा चिन्ता गर्नै पर्दैन नि । जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? एमालेलाई राम्ररी थाहा छ । जनस्तरका सुझाव ग्रहण गर्नका लागि नेकपा९एमाले०ले मिसन ग्रासरुट र मध्यपहाडी लोकमार्ग आधारित झुलाघाट चिवाभंज्याङ यात्रा गरेकै हो । भविष्यमा पनि जनस्तरमा पुग्ने योजना बनाएकै छ ।’

जनताकाबीच पुगेर जनताको सुझाव ग्रहण गर्दै एमाले आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रीत रहेको पोखेरेलले बताएका छन्।