Bagmati Samachar Logo

प्रधानमन्त्रीले लगाए राष्ट्रपतिको हातबाट टीका

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दसैँको टीका जमरा लगाइदिएका छन् । प्रधानमन्त्री ओली राष्ट्रपतिको हातको टीका थाप्न शीतलनिवास पुगेका थिए ।

प्रधानमन्त्रीसँगै अर्थमन्त्री विष्णु पौडेललाई पनि राष्ट्रपति पौडेलले टीका जमरा लगाइदिएका छन् । शनिबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसैँको शुभ साइत ११ बजेर ३६ मिनेटमा टीका र जमरा ग्रहण गरेका थिए।

विजया दशमीका उपलक्ष्यमा आजै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३.३० बजेसम्म विशिष्ट व्यक्तित्व र ३स्३० देखि ५ बजेसम्म सर्वसाधारणलाई टीकाजमरा लगाइदिने कार्यक्रम रहेको छ ।

राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ देखि ३.३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिनेछन् । साथै, सोही समयमा निजामती, जंगी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा लगाइदिएका छन् ।