Bagmati Samachar Logo

बयलगाडाको सिद्धान्त अपनाउनेलाई गणतन्त्र मन परेको छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर बयलगाडाको सिद्धान्त मान्नेलाई गणतन्त्र र यो संविधान मन नपरेको दाबी गरेका छन् ।

प्रचण्डले बुधवार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा एमालेले अहिले संविधान संशोधनको विषय उठाएबाट नै परिवर्तन मन नपरेको स्पष्ट भएको बताएका हुन् । उनले भने,‘एमालेले संविधान संशोधन भनेपछि उसको चाहना संविधान खारेजी हो । किनभने अघिल्लो सरकारले भ्रष्टाचारकोविरुद्धका सुशासनको पक्षमा केही पहल गर्न थालेपछि सत्तामा नआउने भएपछि अफ्ठेरोमा परिने भयो भन्ने कारणले नै बनेको हो यो सरकार ।’

मनभित्र बाट नै बयलगाडाको सिद्धान्त अपनाउने साथीहरूलाई गणतन्त्र आएको मन नपरेको प्रचण्डले बताए । अहिले संविधान संशोधनको बहस नागरिक समाज बुद्धिजीवीहरूले पनि उठाइरहेको उनले बताए । उनले एमाले नेतृत्वलाई यो संविधान घाँडो लाग्न थालेको जिकिर गरेका थिए । संविधान बनाउने बेलामै चाहिँदैन थियौँ भन्ने साथीहरु नै पार्टीको नेतृत्वमा पनि हुनुहुन्छ, सरकारको पनि नेतृत्वमा हुनुहुन्छ । सुरु देखिनै मन परेको छैन ।

उहाँहरूले यो संविधान आफ्नो भन्दा बाहिर भएको ठान्नुहुन्छ ’ उनले भने, ‘ उहाँहरूको चाहना संविधान संशोधन हो भन्ने पनि मलाई लाग्दैन । उहाँहरूको चासो संविधान खारेजी हो । उहाँहरूको चाहना संविधान खारेजी हो ।’

एकै पटक खारेज भन्दा नमिल्ने भएर मात्रै संशोधन प्रयोग गर्न खोजिएको प्रचण्डको भनाइ थियो । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो पटक गरेको संसद् विघटनलाई पनि सदन विघटन मात्रै नभएर त्यसको मूल उद्देश्य संविधान विघटन रहेको बताए ।

‘उहाँहरूलाई समावेशिता त्यति मन परेको छैन । समानुपातिक त झन् मन परेको छैन । सङ्घीयता पनि मन परेको छैन ,अन्ततः गणतन्त्र पनि धेरै मन परेको छैन है । बयलगाडा सिद्धान्त त हामी सबैले सम्झेकै छौ नि त । ’

संविधानमा माओवादीको अनुहार देख्ने गरेको उनले टिप्पणी गरेका थिए । संविधान संशोधनको विषय उठाउने अधिकार माओवादी केन्द्रलाई रहेको बताए । संविधान संशोधन भन्दा संविधान कार्यान्वयन महत्त्वपूर्ण विषय रहेको उनको भनाइ थियो । उनले प्रदेशलाई दिने भनेको अधिकार अहिलेसम्म नपाएको बताए । अध्यक्ष प्रचण्डले मुलुकमा अझै संकट नहटेको टिप्पणी गरे ।