सरकारले बाढी, पहिरोबाट प्रभावित जिल्लाहरुलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने
काठमाडौँ । सरकारले बाढी, पहिरोबाट प्रभावित १४ जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले उपत्यकाका तीन जिल्लासहित १४ वटा जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
बाढी, पहिरो र डुबानबाट अति प्रभावित १४ जिल्लामा पुनर्स्थापना र पुनर्निर्माणको कामलाई प्राथमिकताका साथ तीव्रता दिनेगरी स्थानीय तहको समेत किटान गरी विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको प्राधिकरणले जानकारी दिएको छ ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको सो बैठकमा अति प्रभावित जिल्लाका स्थानीय तहको पनि नाम उल्लेख गरी संकटग्रस्त क्षेत्र घोषणा गरिने उल्लेख गरिएको छ ।
प्राधिकरणले ११ र १२ गतेको वर्षा पछि आएको बाढी पहिरोबाट अति प्रभावित जिल्लाहरुमा ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौँ, संखुवासभा, ललितपुर, सोलुखुम्बु, भक्तपुर, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ रहेको सरकारले जानकारी दिएको छ ।
गत असोज ११ र १२ गते अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानले ठुलो जनधनको क्षति भएपछि सरकारले अति प्रभावित जिल्लाहरूको पहिचानका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्न लागेको हो । प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार विपदमा परी २३९ जनाको मृत्यु भएको छ भने १६९ घाइते, १८ जना अझै बेपत्ता छन् । १७ हजार १२० जनाको उद्धार गरिएको पनि प्राधिकरणको पछिल्लो तथ्यांक रहेको छ।
प्रतिक्रिया दिनुहोस्: