चौतफि आलोचना भएपछि सबै संयन्त्रलाई हाइअलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अनुसार हाइअलर्ट रहन सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा संयन्त्र, र स्थानीय तहहरूलाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आम नागरिकलाई सावधानी अपनाउन आग्रह गरेका छन् । उनले भने, ‘वर्षाको पूर्वानुमान गरिएअनुसार मैले कोशी र बागमती प्रदेशका प्रमुख जिल्ला अधिकारी, प्रदेश र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई अलर्ट रहन निर्देशन दिएको छु ।’ थप समन्वय र सो सम्बन्धी आवश्यक काम कारवाहीका लागि गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुख र विपद प्राधिकरण तयारी अवस्थामा रहन निर्देशन दिएको गृहमन्त्री लेखकले बताए । १० गते आएको बाढी र पहिरोमा राज्यले केहि पनि गर्न नसकेको भन्दै आलोचना भएको थियो । उपत्यकामा नै नागरिकलाई राज्यले उद्दार नगर्दा ज्यान गुमाउनु परेपछि गृहमन्त्रीको सबै भन्दा बढी आलोचना भएको थियो ।
प्रतिक्रिया दिनुहोस्: