Bagmati Samachar Logo

गृह मन्त्रालयले गर्‍यो धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीको सरूवा

काठमाडौं । गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीको सरूवा गरेको छ।

धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको सरूवा गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।

उनीहरूलाई गृह मन्त्रालयमै काम गर्ने गरी सरूवा गरिएको तिवारीले जानकारी दिए।
मनसुन सक्रिय भएसँगै जोखिमको पूर्वसूचना हुँदाहुँदै सवारी साधन सन्चालनमा प्रशासनले रोक नलगाउँदा धेरै क्षति भएको गृहमन्त्रालयको निष्कर्ष छ ।

मौसम पूर्वानुमान महाशाखाले बेलैमा गराएको सचेतना र सञ्चारमाध्यमबाट त्यसको व्यापक प्रचार प्रसार हुँदाहुँदै सयौँ सवारीसाधन र यात्रुलाई राजमार्गमा निस्किन अनुमति दिँदा मानवीय क्षति धेरै भएको थियो ।

नेपाल प्रहरीका अनुसार आइतबार साँझसम्म नौबिसे–नागढुंगा सडक खण्डको झ्याप्ले खोलानेर पहिरोले सवारी साधनसहित पुर्दा ३५ जनाको मृत्यु भइसकेको छ । काभ्रेमा ५० जनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्यांक छ ।

यसैगरी धादिङकाठमाडौं सडकखण्ड र काभ्रेतर्फ बीपी राजमार्ग खण्डमा क्षति पुग्दा यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।

गृहले उनीहरूको ठाउँमा धादिङमा सुमन घिमिरे र काभ्रेमा उमेश ढकाललाई पठाएको छ।