Bagmati Samachar Logo

सर्वोच्चबाट सिधाकुराले प्रकाशन गरेको अडियोले अदालतको अवहेलना भएकोको ठहर, जेल गए पत्रकार ढुंगाना र कँडेल

काठमाडौँ । सर्वोच्च अदालतले ‘सिधाकुरा’ले प्रकाशन गरेको सामग्रीले अदालतको अवहेलना गरेको ठहर गरेको छ । आइतबार सर्वोच्चले अदालतको अवहेलना गरेको फैसला सुनाएको हो । आजै अदालतले सजाय सुनाएको छ ।

सर्वोच्चका प्रधान न्यायाधीश विश्वम्भवरप्रसाद श्रेष्ठसहित ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार निर्णय सुनाउँदै विवादित अडियो रेकर्ड गर्ने राजकुमार तिम्सिनालाई ६ महिना कैद सजाय सुनाएको छ । सिधाकुराका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगानालाई जनही ३ महिना कैद सजाय सुनाएको छ । यद्यपि, माफी मागे ७ दिन मात्र कैद बस्नुपर्ने फैसलामा उल्लेख छ ।

पत्रकारद्वय नवीन ढुंगाना र युवराज कँडेलले अदालतको अवहेलना गरेको ठहर भएसँगै जेल चलान भएका छन् । उनीहरू केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका हुन् ।

सर्वोच्च अदालतको फैसलालगत्तै पत्रकार ढुंगानाले फैसलालाई सम्मान गर्दै केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएको फेसबुकमार्फत जनाएका छन् ।
सिधाकुरा अनलाईनफे ‘द डार्क फाइल’ नाम दिएर प्रसारण गरेका शृंखलाबद्ध सामग्रीमा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश आनन्दमोहन भट्टराई र वरिष्ठ अधिवक्ता हरि उप्रेतीका साथै सञ्चार उद्यमीहरू कैलाश सिरोहिया र रामेश्वर थापाको नाम पनि जोडेर प्रकाशन गरेको थियो । सर्वोच्चको संवैधानिक इजलासले अख्तियारले गर्दै आएको स्टिङ अप्रेसन गैरकानुन हुने फैसलासँग जोडेर समाचार प्रकाशन गरेको थियो । उक्त समाचार पछि सर्वोच्च अदालत आफैँले टिप्पणी उठाएर अवहेलना मुद्दा चलाएको थियो । यसरी प्रकाशित गरिएको अडियो परीक्षणका क्रममा फेक भएको पुष्टि भएको थियो ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। ‘सम्मानित सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै म र मेरो प्रकाशक एवम् तपाईंहरूको प्रिय प्रस्तोता युवराज कँडेल केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका छौँ ।’

तर उनले जेलबाट छुटेसँगै फेरि सञ्चाकर्ममै रहने र विचलित नहुने बताएका छन् । उनले अगाडि लेखेका छन्, ‘प्रिय पाठक र श्रोताहरू हामी फेरि समाचार लेख्नै आउने छौँ । हामी समाचार लेख्न नै जन्मिएका हौँ । समाचारको धर्मबाट कहिल्यै विचलित हुने छैनौँ ।’

ढुंगाना ‘सिधाकुरा’ अनलाइनका कार्यकारी सम्पादक र कँडेल प्रकाशक तथा प्रस्तोता हुन् । सर्वोच्चका प्रधान न्यायाधीश विश्वम्भवरप्रसाद श्रेष्ठसहित ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार निर्णय सुनाउँदै विवादित अडियो रेकर्ड गर्ने राजकुमार तिम्सिनालाई ६ महिना कैद सजाय सुनाएको थियो । यसैगरी सिधाकुराका कँडेल र ढुंगानालाई जनही ३ महिना कैद सजाय सुनाएको थियो । यद्यपि, माफी मागे ७ दिन मात्र कैद बस्नुपर्ने फैसलामा उल्लेख छ ।

उनीहरूलाई जनही ५ हजार रुपैयाँ जरिवाना पनि ठहर भएको छ ।