Bagmati Samachar Logo

बाढीको कहर हेर्न पुगेको मणिकलालले नख्खु खोलामा बगिरहेका बाउछोरीको सकुशल उद्धार गरे

काठमाडौँ । ललितपुरको नख्खु खोलामा छेउमा चार जना जस्ताको टहरोमाथि बसेर गुहार मागिरहेका बेला अचानक बाढीले टहरो भत्काएपछि उनीहरू उर्लिँदो भेलमा खसेका थिए ।

सामाजिक सञ्जालमा यो घटनाको भिडियोसमेत भाइरल भएपछि धेरैले राजधानीमै उद्धारमा तदारुकता नदेखाएका कारण चार जनाको अकालमै ज्यान गएको भन्दै सरकारको तिब्र आलोचना भयो । सामाजिक सञ्जालबाट नै गृहमन्त्रीको राजीनामाको माग सुरु भयो ।

यहीबीचमा गृहमन्त्री रमेश लेखकले खराब मौसमका कारण हेलिकोप्टर उडाउन नसकिँदा नख्खुको बाढीमा फसेका चार जनालाई बचाउन नसकिएको स्पष्टीकरण दिए ।

‘नख्खु खोलामा केही मानिसहरू टहराको छतमा बसेको अवस्थामा कोसिस गर्दागर्दै पनि बचाउन सकेनौँ । हेलिकोप्टरमार्फत् पनि उद्धार गर्न सकिएन । भिजिविलिटीका कारण जोगाउन सकेनौँ’, गृहमन्त्री लेखकले भनेका थिए ।

तर गृहमन्त्रीले बचाउन सकिएन भनेर दुःखमनाउ गरिरहे । तर फेरी सामाजिक सञ्जालमा नख्खु खोलाले बगाएका चार जनामध्ये तीन जनाको जीवितै उद्धार भएर पाटन अस्पतालमा उपचार भइरहेको जानकारी आयो । जनु कुरा सत्य थियो ।

नख्खु खोलाको किनारमा रहेको टिनको छाप्रोमा चार जना फसिरहेका छन् भन्ने खबर बिहानैदेखि फैलिएको थियो । त्यहाँ उद्धारका लागि स्थानीय बासिन्दाले प्रयास गरिरहेका थिए । तर सरकारी संयन्त्रको ढिलासुस्तीका कारण समयमै उद्धार हुन सकिरहेको थिएन ।

काभ्रेको तेमाल गाउँपालिका–९ घर भई नख्खुको सुगम बस्तीमै भाडामा बस्दै आएका ३६ वर्षीय चणिकलाल ताामाङ पनि बाढीको कहर अवलोकनका लागि नख्खु खोला किनार पुगेका थिए । उनी पुग्दानपुग्दै टिनको छाप्रो भत्कियो र चार जना उर्लिँदो भेलमा खसे ।

केही मानिसहरूले सामाजिक सञ्जालमा उक्त दृष्य लाइभ गरिरहेका थिए । मानिसहरू बाढीमा बग्न थालेपछि चणिकलालले खोलामा एकाएक खोलामा हाम फाले । उनले दुई जनाको सकुशल उद्धार गरे । बाढीमा खसेका एक जनाले पौडी खेलेर ज्यान जोगाए भने एक बालिका बेपत्ता छिन् ।

प्रहरीका अनुसार रौतहट घर भई नख्खुको सुगम बस्ती टोलमा बस्दै आएका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघना साहको चणिकलालले उद्धार गरेका हुन् । राजु आफ्नी छोरी मेघनालाई च्यापेर पौडिँदै गरेका बेला चणिकलालले खोलाबाट निकालेका थिए । राजुका भाइ २२ वर्षीय राज साहले पौडेर ज्यान जोगाए । राजुकी छोरी करिब ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

को हुन् चणिकलाल ?

काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका चणिकलाल पेन्टर हुन् ।

वर्षाका कारण शनिबार फुर्सदिला भएका उनी बाढीको कहर हेर्न निस्केका थिए । त्यही बेला आँखैअगाडि मानिसहरू बग्न थालेपछि नदीमा हाम फालेर उनले दुई जनाको ज्यान जोगाएका हुन् ।

आफ्नो ज्यानको बाजी थापेर दुई जनालाई पुनर्जीवन दिएको भन्दै सामाजिक सञ्जालमा उनको चौतर्की प्रशंसा भइरहेको छ । राज्यले बचाउन नसकेको भन्दै दुःख मनाउ गरीरहेका बेला चणिकलालको भने प्रशंसा भइरहेको छ ।