Bagmati Samachar Logo

प्रचण्ड र रवीन्द्र मिश्र भेटछि बाबुराम भट्टराईले घुमाउरो तरिकाले भने प्रचण्ड राजावादी हुन

काठमाडौं । सोमबार बिहानै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रबीच भेटवार्ताको क्रममा भएका कुराकानी सार्वजनिक भएसँगै पूर्वमाओवादी नेता तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रचण्ड राजावादी नै हो भन्ने कडा प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रचण्ड र रवीन्द्र मिश्रबीचको अन्तरंग कुराकानीको सत्यतथ्य उहाँहरूले नै जान्ने र भन्ने कुरा हो । तर माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्षदेखि जान्ने सबैलाई थाहा छ, अहिले बिरालोले म्याउँ गरेकै हो । किनकि प्रचण्डको वास्तविकता त्यही हो ।’
मंगलबार दुई नेताबीच भएको भेटको तस्वीर र कुराकानीका विवरणहरू पनि मिश्रले सार्वजनिक गरे । मिश्रले आफूले प्रचण्डसँग राखेका कुरा र प्रचण्डले दिएको जवाफ भन्दै सामाजिक सञ्जालमा ७ बुँदामा सार्वजनिक गरे ।

मिश्रले ७ बुँदामा सार्वजनिक गरेका कुराहरुले जयनुद्धको बेला प्रचण्ड र बाबुराम समूहबीच प्रचण्ड राजापरस्त र बाबुराम भारतपरस्त रहेको आरोप–प्रत्यारोप लाई पुनः सहतमा ल्याएको छ । माओवादीको ‘जनयुद्ध’ चरम उत्कर्षमा पुगेको समयमा प्रचण्ड र बाबुरामबीच दुई लाइन संघर्ष पनि उत्कर्षमा पुगेको थियो । संघषएकाृ कारण भट्टराई संसदवादी नेताहरूसँग संवाद गर्ने पक्षमा थिए भने प्रचण्ड राजासँग संवाद गर्ने पक्षमा थिए । दुई नेताका परस्परविरोधी विचारले ठूलो विवाद निम्त्याएको थियो ।

मंगलबार प्रचण्ड–मिश्र भेटमा प्रचण्डले जनयुद्धकालमा केही व्यक्ति राजतन्त्रबारे अत्यन्तै नकारात्मक रहे पनि आफू राजतन्त्रबारे सकारात्मक नै रहेको बताएको रवीन्द्र मिश्रले जिकिर गरेका छन् । प्रचण्डले राजा महेन्द्र त गज्जबका ‘भिजनरी’ राजा रहेछन्ु भन्ने प्रतिक्रिया दिएको रवीन्द्रको दाबीलाई लक्षित गर्दै बाबुरामले बिरालोले म्याउँ गरेको रूपमा चित्रण गरेका छन् । उनले भनेका छन्, ‘गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेशी लोकतन्त्र कुनै महापुरुषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट होइन, नेपाली शोषित, पीडित जनताको अतुलनीय बलिदानपूर्ण सङ्घर्षको बलमा प्राप्त भएको हो । केही राजावादीहरू चिच्याउँदैमा र प्रचण्डहरू सत्ता लिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका यी उपलब्धिहरू खोसिन सक्दैनन् । खोस्न दिनु हुँदैन ।’

जनयुद्धकालमा भारतपरस्त र राजापरस्तको आरोप लगाउँदै विभाजनको अन्तिम डिलमा पुगेका प्रचण्ड–बाबुरामले चुनवाङ बैठकमा एक अर्कामा विलय भएको घोषणा गरेका थिए । सोही बैठकबाट तत्कालीन माओवादीले अन्तरिम सरकार, गोलमेच सम्मेलन र संविधानसभा निर्वाचनको नीति अगाडि सारेको थियो । यो नीति बाबुरामले आफ्नो भएको दाबी गर्दै आएका थिए । चुनवाङ बैठकभन्दा पहिला प्रचण्डले लिएको रणनीति फेल भएको र आफ्नो रणनीति बैठकले पास गरेको दाबी बाबुरामको थियो ।

बाबुरामले संसदवादी दलहरूसँग मिल्नुपर्छ भन्दा पार्टीले उनलाई भारतपरस्तको आरोप लगाएर कारबाहीसमेत गरेको थियो । प्रचण्डले राजासँग मिलेर राजनीतिक दल सिध्याउने रणनीति अगाडि सारेका थिए । अन्ततः माओवादी संसदवादी राजनीतिक दलहरूसँग मिलेर अन्तरिम सरकार र संविधानसभा निर्वाचनमा सहभागी भएको थियो । आफूले जनयुद्धकालमा प्रचण्डलाई लगाएको आरोप अहिले आएर प्रमाणित भएको बाबुरामको भनाइ छ ।

मंगलबार आफूसँग भएको भेटमा प्रचण्डले राजतन्त्रबारे सकारात्मक टिप्पणी गरेको दाबीसहित मिश्रले सामाजिक सञ्जालमार्फत संवादको सात बुँदा सार्वजनिक गरेका थिए ।

उनले प्रचण्डको भनाइ भन्दै भनेका छन्, ‘पछिल्लोपटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूका सबै विवरण मागेर हेरेको त पञ्चायतकालमा धेरै राम्रो काम भएको रहेछ । राजा महेन्द्र त गज्जबका भिजनरी राजा रहेछन् । द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पूरै नकारात्मक थिए । म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ ।’

रवीन्द्रको भनाइको खण्डन

‘प्रचण्ड’सँग भेटपछि मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले एक दिनपछि खण्डन गरेको छ । अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले ‘मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उहाँको मनगढन्ते धारणा ’ भएको बताए ।

उनले भनेका छन्, ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान् बलिदानपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो । शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनुभएको छ, उहाँका विचार भनेर मिश्र सरले आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनीतिक संस्कार होइन ।’

प्रचण्डको सचिवालयले आफ्नो सातबुँदे टिप्पणीमा आपत्ति जनाएपछि मिश्रले गोप्य रहोस् भनिएका कुराहरू त झनै आफूले सार्वजनिक नगरेको जवाफ फर्काएका छन् । ‘ठूला नेताहरूसँग भेट्दा ुयो कुराचाहिँ बाहिर नगरौँ हामी बीचमा रहोस्ु भनिएका कुरा म कहिल्यै पनि सार्वजनिक गर्दिनँ । र, हिजोको हाम्रो संवादका हकमा पनि त्यही नै नीति अवलम्बन गरेको छु ’ मिश्रले बुधबार सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले भनेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै हुन् । कांग्रेस एमालेलगायतका दल तथा नागरिक समाज सहायक पात्र हुन् । ती सबै ‘प्रचण्ड पथगामी’ हुन् । नेपालको संविधान २०७२’ वास्तवमा ’प्रचण्डको संविधान २०७२’ हो र प्रचण्ड नभएको भए नेपालमा कुनै हालतमा संविधानसभा मार्फत यो संविधान लेखिने थिएन भन्नेमा प्रस्ट छु ।’
आरोप प्रत्यारोप पछि एक आपसमा विलिन भएका प्रचण्ड बाबुरामबीच अहिले सम्बन्ध राम्रो छैन । बाबुरामले अहिलेपनि आफू गणतन्त्रवादी भएको र प्रचण्ड राजावादी भएको कुरा पुष्टि भएको दाबी गरेका छन् ।