Bagmati Samachar Logo

माओवादीको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ । क्रान्तिकारीका उपाध्यक्ष मदन भुलले असोज १० देखि १४ गतेसम्म हुने २३ औँ सम्मेलनको तयारी पूरा भएको बताए ।

यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश समिति र केहि जिल्लाको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उनले बताए । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।

उनका अनुसार यस पटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समिति सम्मेलनमा सहभागी हुनका लागि आ–आफ्नो मातहतका समितिबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय समिति स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।

सम्मेलनको उद्घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने जनाइएको छ । सिंहका अनुसार सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ ले गर्नेछन् ।
अहिलेका पदाधिकारी सबै नेतृत्वको दाबी गदै आएका छन् ।