इन्द्रजात्रा अवलोकनमा प्रधानमन्त्री आए, मेयर बालेन भारतमा
काठमाडौं । प्रधानमन्त्री केपी ओली इन्द्रजात्रामा सहभागी हुदा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह भने उपस्थित भएनन् । परम्पराअनुसार इन्द्रजात्राको विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्रीका ओली दिउँसो सवा २ बजे वसन्तपुर पुगे । उनलाई त्यहाँ उपप्रमुख सुनिता डंगोलसहित वडाध्यक्षहरूले स्वागत गरे । यसअघि प्रधानमन्त्रीसहित उच्चपदस्थको स्वागतमा मेयर पनि देखिने गर्थे ।
गत वर्ष इन्द्रजात्रा सुरु भएको विषयमा आयोजित पत्रकार सम्मेलनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले इन्द्रजात्रालाई विश्वव्यापी बनाउने प्रयास गरेको बताएका थिए । यसैका लागि भन्दै विभिन्न देशका नगरप्रमुखलाई बोलाइएको थियो ।
काठमाडौं उपत्यकावासीले खास महत्त्व दिएर मनाउने इन्द्रजात्रालाई बालेनले पनि निकै प्राथमिकता दिएको देखिन्थ्यो । तर, यसपालि उनी काठमाडौंको वसन्तपुरमा इन्द्रजात्राको भव्य समारोहमा देखिएनन् ।
प्रधानमन्त्री ओलीसँग ‘इगो’का कारण बालेनले यसपल्टको इन्द्रजात्रा छलेको चर्चा छ । मेयर बालेन पछिल्लो एक सातादेखि भारतको बैंगलोरमा छन् । इन्द्रजात्रामा प्रधानमन्त्रीलाई स्वागत गर्नुपर्ने उनी त त्यहाँ देखिएनन् नै, उनको तस्वीर अंकित टिसर्ट लगाएका युवाहरूलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
इन्द्रजात्रामा पनि त्यस्तै अवरोध र विरोध हुन सक्ने आशंकामा प्रहरीले कार्यक्रम सुरु हुनुभन्दा अगाडि नै युवाहरूलाई रोकेको बताइएको छ ।
यो कार्यक्रम अवलोकन गर्न प्रधानमन्त्री मात्र होइन, राष्ट्रपति, सभामुखलगायत उच्च पदस्थ व्यक्तिहरू पुगेका थिए ।
किन आएनन् मेयर बालेन
बालेनको सचिवालयका अनुसार, भारतमा आफू पढेको क्याम्पसका पूर्वविद्यार्थीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन मेयर बालेन त्यहाँ पुगेका हुन् । र, उनी आजभोलिमै काठमाडौं फर्किने प्रमुख स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए ।
बालेनकै अर्का एक सहयोगीका अनुसार, आफूले गलत भनेका ओलीलाई हात जोडेर स्वागत गरी मञ्चमा सँगै बस्न नचाहेकाले बालेन इन्द्रजात्रा छोडेर भारतमा बसेका हुन् । ‘इन्द्रजात्राप्रति उहाँको अनिच्छा वा अरुचि होइन,’ ती सहयोगीले भने, ‘कलेजकै कार्यक्रम हुँदा पनि इन्द्रजात्राभन्दा त्यो महत्त्वपूर्ण हुँदैनथ्यो । प्रधानमन्त्री ओलीसँग एकै मञ्चमा बस्न नचाहेकैले उहाँ अहिले काठमाडौंमा हुनु हुन्न ।’
उनका अनुसार, मेयर बालेनले आफ्नो टिमका सदस्यसँग यसबारे भारत जानुअघि नै भनेका थिए ।
करिब डेढ वर्षयता मेयर बालेनले फेसबुकमार्फत एमाले अध्यक्ष एवं हालका प्रधानमन्त्री ओलीको आलोचना गर्दै आएका छन् । पार्किङ, सुकुम्बासी, फोहोर व्यवस्थापनलगायतमा एमालेबाट सहयोगको साटो अवरोध भएको बालेन ठान्छन् । केही दिनअघि शिलापत्रसितको संवादमा बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले ओलीकै आदेशमा काठमाडौं महानगरमा वडाध्यक्षहरूबाट संगठित असहयोग भएको बताएका थिए ।
पछिल्लो समय गिरीबन्धु टी–इस्टेटमा नीतिगत भ्रष्टाचार भएको भनी सर्वोच्च अदालतले गरेको फैसला देखाउँदै बालेनले ओलीतिर औँला ठड्याएका थिए । न्युरोडमा पार्किङसम्बन्धी विवाद हुँदा पनि बालेनले फेसबुकमार्फत ओलीलक्षित स्टाटसहरू लेखे । ओलीले पनि सार्वजनिक मञ्चमार्फत बालेनको आलोचना गरे । पार्किङको लफडापछि खोला किनारको मापदण्डसम्बन्धी सर्वोच्च अदालतको परमादेश, एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मामाथि लागेको बाल श्रमशोषणको मुद्दालगायतमा बालेनले प्रधानमन्त्री ओलीलाई निसाना बनाए । उनका पछिल्ला सात स्टाटस प्रधानमन्त्री ओलीलक्षित नै छन् । केही दिनअघि बालेन समर्थकले ओलीको फेसबुक पेजमा अनफलो अभियान चलाएका थिए ।
प्रतिक्रिया दिनुहोस्: