Bagmati Samachar Logo

परामर्श बैठकमा नेताहरूले प्रश्न उठाए, प्रचण्डले भने गुटगन्दी गर्न छुट छैन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र अब गुटबन्दी गर्न छुट नहुने बताएका छन् । दुई दिनसम्म महोत्तरीको बर्दिबासमा चलेको मधेस प्रदेशको परामर्श बैठकमा बुधबार नेताहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले अब देखि पार्टीमा गुटबन्दी गर्न छुट नहुने भन्दै एकताबद्ध भएर पार्टी निर्माणमा लाग्न निर्देशन दिएका हुन् ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार केहीले अध्यक्ष प्रचण्डको सबैलाई ‘हुन्छ’ भन्ने बानीले पार्टी बिग्रिएको धारणा राखेका थिए । त्यस्तै, केहीले मधेसमा देखिएको गुटबन्दी अन्त्य नभए संगठन थप सङ्कटमा फस्नेतर्फ नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

‘गुटबन्दीले पार्टी बिग्रियो । मधेसमा पनि त्यो समस्या देखिएको छ । अब त्यतिकै हेरेर बसिँदैन । हिजो नेतृत्व उदार हुँदा पार्टीमा समस्या आयो । नेतृत्वले सबैलाई हुन्छ भन्ने व्यवहारले पार्टी बिग्रिएको कुरा आएको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती सदस्यले रातोपाटीसँग भने, ‘तपाईँहरूको चिन्ता ठिकै हो । त्यसले केही उपलब्धि पनि भयो तर क्षति पनि भयो । अब गुटबन्दी गरियो भने पार्टी सङ्कटमा पर्छ । अब गरिँदैन । विधि र पद्धति अनुसार कडाइका साथ लगिन्छ ।’

मधेसमा नेतृत्वकाबिच देखिएको गुटबन्दीका कारण पार्टी संगठन कमजोर भएकाले संगठनलाई चलायमान बनाउने गरी योजना बनाउन नेताहरूले नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
बैठकमा मधेसमा कार्यरत केन्द्रीय सदस्यहरूले आठौँ महाधिवेशन सम्पन्न भएको तीन वर्ष पुरा हुन लाग्दा समेत प्रदेश समिति गठन नभएको, जिल्ला समिति पनि कार्यकारी नहुँदा समस्या भएको गुनासो पोखेका थिए । पार्टी विधान, विधि, पद्धतिअनुसार नचलेको, पार्टी सञ्चालनमा नेतृत्वले सही ढंगले पहल गर्न नसकेकोमा आलोचना गरेका थिए ।

मधेसमा नेतृत्वकाबिच देखिएको गुटबन्दीका कारण पार्टी संगठन कमजोर भएकाले संगठनलाई चलायमान बनाउने गरी योजना बनाउन नेताहरूले नेतृत्वको ध्यानाकर्षण गराएका थिए । जवाफमा मधेसमा गुटबन्दी अन्त्य गर्ने विषयमा पार्टीले ठोस प्रस्ताव ल्याउने प्रचण्डले प्रतिबद्धता जनाएका थिए ।

‘मधेसका समस्याबारे चाँडै हामीले निकास निकाल्छौँ । तर अहिले नै तिथिमिति तोक्ने कुरा भएन । सबैले अहिले पालिका र वडास्तरमा गएर काम अगाडि बढाउने कुरा गर्नुभयो । अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्था प्रतिकूल रहेको छ । यस्तो अवस्थामा प्राप्त उपलब्धिको रक्षा गर्न पार्टी एकताबद्ध भएर जानुपर्नेमा अध्यक्ष प्रचण्डले जोड दिनुभयो’, ती सदस्यले भने ।

यस्तै नेतृत्व तहबाट नै गुटबन्दी भएको विषयमा मधेस प्रदेशका पूर्वइन्चार्ज तथा उपमहासचिव गिरिराजमणि पोखरेलेले जवाफ दिएका थिए । आफू प्रदेशको जिम्मेवारीमा नहुँदा पनि गुटबन्दी गरेको आरोप आएकोमा उनले गुनासो पोखेका थिए ।

‘गिरिराजमणि पोखरेलको यो वा त्यो गुट भनेर भनिएको छ, त्यस्तो केही होइन । पार्टी बनाउने कुरा नै हो । गुटगत क्रियाकलाप गरेको आरोप लागेको छ भने सबैले भने हुन्छ । ठोस प्रमाण छ भने बैठकमा राख्न आग्रह गर्छु । मेरो घर मधेसमै भएको, मधेस नै निर्वाचन क्षेत्र रहेको कारण यस्ता आरोप आउनु स्वाभाविक नै होला । तर अहिले जिम्मेवारीमा नरहँदा पनि गुटबन्दी गरेको आरोप सुन्ने गरेको छु । गुटबन्दी होइन, हामी सबै मिलेर पार्टी बनाउनुपर्छ’, पोखरेलको भनाइ उद्धृत गर्दै अर्का एक सदस्यले बताए ।

बैठकमा उपहासचिव जनार्दन शर्माले पार्टी विभाजन गर्न लागिएको आरोपको खण्डन गर्दै आफूले नेतृत्वलाई असहयोग गर्न नभई पार्टीलाई विधि, पद्धतिमा लगेर थप बलियो बनाउन छुट्टै प्रस्ताव पेस गरेको बताएका थिए । साथै पार्टी फुटको चर्चा निराधार भएको उनको भनाइ थियो ।

बैठक समापन गर्दै इन्चार्ज पोखरेलले आफूले मधेसको समस्या समाधान गर्न प्रयत्न गरिराखेको बताएका थिए । पार्टीले जिएको जिम्मेवारी पुरा गर्न मधेसमा आएकाले कुनै गुट वा उपगुट भन्दा पनि क्रान्तिकारी पार्टी कसरी बनाउन सकिन्छ भन्ने विषयमा ध्यान दिएको उनले भनाइ राखेका थिए । त्यही अनुसार काम हुनेमा प्रतिबद्धता जनाएका थिए ।
पार्टीका उपमहासचिव एवं पूर्वइन्चार्ज मात्रिका यादव बिरामीका कारण बैठकमा सहभागी भएनन् । खासगरी पोखरेल र यादवबिचको टकरावका कारण संगठन निर्माण ध्वस्त भएको आरोप लाग्दै आएको छ ।

नेतैपिच्छे गुट र उपगुटका कारण २०७९ को निर्वाचनमा माओवादीले मधेसमा ठुलो धक्का खाएको थियो । संगठन निर्माणमा देखिएको समस्या समाधान गरी प्रभावकारी संगठन निर्माणका लागि गत वर्ष फागुनमा बसेको पार्टीको स्थायी समिति बैठकले मधेसको इन्चार्जमा सचिव लीलामणि पोखरेललाई नै निरन्तरता दिएको थियो । गिरिराजमणिलाई सुदूरपश्चिमको जिम्मेवारी दिएको थियो । मात्रिकालाई भारत प्रदेशको जिम्मेवारी दिएको थियो ।

बैठक समापन गर्दै इन्चार्ज पोखरेलले आफूले मधेसको समस्या समाधान गर्न प्रयत्न गरिराखेको बताएका थिए । पार्टीले जिएको जिम्मेवारी पुरा गर्न मधेसमा आएकाले कुनै गुट वा उपगुट भन्दा पनि क्रान्तिकारी पार्टी कसरी बनाउन सकिन्छ भन्ने विषयमा ध्यान दिएको उनले भनाइ राखेका थिए । त्यही अनुसार काम हुनेमा प्रतिबद्धता जनाएका थिए ।

परामर्श समिति बैठकमा सहभागी भएका स्थायी समिति सदस्य प्रह्लाद बुढाथोकीले पार्टी निर्माण तथा विचार संश्लेषणको विषयमा गम्भीर बहस र छलफल भएको दाबी गरे । उनले दसैँलगत्तै केन्द्रीय समिति बैठक बसेर सबैको भावना समेट्ने गरी राजनीतिक दस्ताबेज तयार पार्ने अध्यक्ष प्रचण्डले प्रतिबद्धता व्यक्त गरेको उनले दाबी गरे । अर्का स्थायी समिति सदस्य विश्वनाथ साहले पनि पार्टीभित्र आन्तरिक बहस राम्रो भएको जिकिर गरे । मधेस लगायत सबै प्रदेशमा देखिएका वैचारिक, सैद्धान्तिक तथा सांगठनिक समस्या समाधान गर्न पार्टीले ठोस योजना ल्याउने गरी केन्द्रीय समितिले योजना बनाउने साहको भनाइ थियो ।

अर्की स्थायी समिति सदस्य उर्मिला अर्यालले पनि पार्टी निर्माण र विचारको विकाससम्बन्धमा पार्टीभित्र राम्रो बहस भएको दाबी गरिन् ।

बैठकमा पदाधिकारीबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि, हरिबोल गजुरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतले सम्बोधन गरेका थिए । दुई दिनसम्म ४८ जना सहभागीले आ–आफ्ना धारणा राखेका थिए । पार्टी केन्द्रीय समितिको बैठकको तयारी स्वरूप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ । मधेस प्रदेशसँगै भूगोलका सातवटै प्रदेशको बैठक सम्पन्न भएको छ । अब सल्लाहकार समिति, ज्येष्ठ कम्युनिस्ट मञ्च र प्रवास प्रदेशको बैठक सकेर केन्द्रीय समिति बैठकको तयारीमा लाग्ने माओवादीको योजना छ । केन्द्रीय समिति बैठकपछि संगठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम तय गर्ने तयारी छ ।