५३ वर्षपछि ओलीले स्वीकारे झापा विद्रोहको गल्ती
काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘झापा विद्रोह’ को नीति सही नभएको ५३ वर्षपछि स्वीकारेका छन् । विद्रोहको नीति सही नभएकै कारण अन्ततः त्यसलाई बदलेको उनको दाबी छ ।
तेस्रो सेक्रेटरीका रूपमा ओलीले २०२८ सालतिर झापा विद्रोहको नेतृत्व गरेका थिए । त्यसबेला ‘वर्गसत्रु खतम अभियान’अन्तर्गत धर्मप्रसाद ढकाल र उनका छोरा ज्ञानी ढकालको ओली नेतृत्वमा आन्दोलित कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।
शनिबार २१ औँ निजामती सेवा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले त्यसबेला आफू नेतृत्वको पार्टीले अख्तियार गरेको नीति गलत भएको र नीति बदलेको बताए ।
प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे सशस्त्र विद्रोहलाई हिंसा भएको दाबी गर्दै ओलीले भने, ‘जनताका नाउमा एक मुठ्ठी मान्छेले आफ्नो रहर निर्देशितरप्रायोजित अथवा अरु प्रकारका रहरहरू लाद्न खोज्यो भने देशले अस्वीकार गर्छ र बाटो बदल्नुपर्छ, मैले पनि झापा आन्दोलनताका जुन नीतिहरू लिएको थिएँ, त्यो सही नीति भएनछ । बदलियो ।’
ढकाल बुबाछोराको हत्यापछि तत्कालीन सरकारले जेल सार्ने भन्दै २९ फागुन २०२९ मा पाँच जना कम्युनिस्ट नेताको इलामको सुखानी जङ्गलमा हत्या गरेको थियो । त्यसरी मारिनेमा नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, रामनाथ दाहाल र नारायण श्रेष्ठ थिए ।
त्यसबेला उक्त विद्रोहसँग नजिक रहेका राजनीतिशास्त्री प्रा।डा। कृष्ण पोखरेलका अनुसार ओली नेतृत्वमा भएको विद्रोह पूरै भद्रगोल थियो । आन्दोलनकारीले गठन गरेका स्क्वार्डहरूले वर्गसत्रु खतम अभियानअन्तर्गत स्वेच्छिक रूपमा एक्सन लिन्थे । त्यही क्रममा ढकाल बुबाछोरामाथि कारबाही भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: