Bagmati Samachar Logo

नक्सा सार्वजनिक गर्ने निर्णय पार्टीको हो, कुनै व्यक्ति बिशेसको देवत्वकरण नगरौं : वामदेव

नेकपा उपाध्यक्ष वामदेब गौतमले सरकारले लिम्पियाधुरासहितको नक्सा पार्टी निर्णय अनुसार पारित गरेको दाबी गरेका छन्।

बुधबार एक प्रेस नोट सार्वजनिक गर्दै उपाध्यक्ष गौतमले पार्टी निर्णय अनुसार भएको कामलाई लिएर निश्चित व्यक्तिको देवत्वकरण नगर्न समेत उनले आग्रह गरेका छन्।

अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ । गौतमले भने तर, यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएको हो र नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ।

सोमबार सरकारले लिम्पियाधुरासम्म भुभाग समेटेर नेपालको नक्सा पारित गरेको थियो। नक्सा पारित भएकोमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली निकटका नेता कार्यकर्ताहरुले प्रधानमन्त्री ओली र भूमि व्यवस्था मन्त्री पद्मा अर्यालको उच्च प्रशंसा गरेका थिए।

उपाध्यक्ष गौतमले ऐतिहासिक तथ्य, प्रमाण र लिखतद्वारा निर्दिष्ट गरिएको आधारमा नेपाल सरकारले देशको नयाँ नक्सा सार्वजनिक गरेको समेत बताएका छन्।

समस्त नेपाली जनसमुदाय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति आभारी रहेको समेत उनले उल्लेख गरेका छन्।

सँगै गौतमले नक्सा सार्वजनिक गर्ने विषयलाई सशक्त रुपमा उठाउने आफू भएको समेत दाबी गरेका छन।

नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा मैले सुरूदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको सबैमा स्मरण गराउन चाहन्छुु, गौतमले भने यसपटक पनि छुटेका नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको वैठकमा मैले नै राखेको यहाँहरु सबैमा जानकारी गराउँछु।

वर्तमान सरकारका अनेकन कार्य आलोचनायोग्य हुँदाहुँदै पनि यो काम स्वागतयोग्य भएको उनले बताएका छन्।
सिमाना व्यवस्थापनसँग सम्बन्धित हाम्रा ऐतिहासिक अभिलेखलाई यो नक्साले अझ बलियो प्रमाणका रुपमा आत्मसात गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र उर्जा दिने काम भएको छ। हामीले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ।