Swornakshar Logo

ओम्नीबारे मलाई थाहा छैन प्रधानमन्त्री ओली

काठमाडौ । ६ जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीले ओम्नी कम्पनी कसको के हो भन्नेबारे आफूलाई थाहा नभएको बताएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा मंगलबार नीति तथा कार्यक्रमबारे सांसदहरूका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले ओम्नी कम्पनी बालुवाटारसँग सम्बन्धित छ भनेर कतिपय सञ्चारमाध्यमले लेखेको देखे पनि ओम्नी भन्ने कम्पनीबारे आफूले नसुनेको पनि बताएका छन्।

कतिपय सञ्चारमाध्यम कताकता ओम्नी भन्ने नामको कुनै कम्पनी वा संस्था आदिको कुरो आउँछ। यतिसम्म पनि भनिने अवस्था मैले देखें कि यो बालुवाटारसँग सम्बन्धित छ। ओम्नी भन्ने मैले सुनेको पनि थिइनँ,’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्रीले आफ्नो काम व्यापार विजनेस नभई राजनीति भएको पनि बताए। ओम्नी कसको के हो थाहा पनि थिएन मलाई। व्यापार, विजनेस, कारोबार मेरो विषय होइन। मेरो राजनीति हो। व्यापार विजनेसमा रूची राख्दिनँ,’ ओलीले भने।

कोरोनाको नियन्त्रण र उपचारमा चाहिने स्वास्थ्य सामग्री खरिद गर्न नसकेको भन्दै स्वास्थ्य मन्त्रालयले ओम्नी कम्पनीसँगको ठेक्का रद्द गरिदिएको थियो।

प्रधानमन्त्रीले कोरोना संकटका बेला मन्त्रालयले नै स्वास्थ्य सामग्री खरिद गर्न सक्ने पनि बताए।
मन्त्रालय र विभागका महानिर्देशकले खरिद प्रक्रिया छोटो प्रक्रियाबाट गराउन सक्छ। एक तह माथिका कर्मचारीलाई जानकारी दिन सक्छ,’ उनले भने, ‘यो कुरा प्रधानमन्त्रीलाई रिपोर्टिङ गर्दैन। सचिवलाई रिपोर्टिङ गर्छ।’

उनले स्वास्थ्य सामग्री खरिदमा कसैले एक रुपैयाँ अनियमितता गरेको छ भने पनि छानबिन गरेर कारवाही गर्ने बताएका छन्।

हरेक कुरामा भ्रष्टाचारमात्र देख्नु र मन नपरेकोलाई लगेर जोडिदिनू राम्रो होइन,’ उनले भनेका छन्।