Bagmati Samachar Logo

नेकपाका असन्तुष्ट स्थायी कमिटी सदस्यको प्रश्नः के कारण रोकियो स्थायी कमिटी बैठक

काठमाडौं । २५ वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का असन्तुष्ट स्थायी कमिटीका २० जना सदस्यहरूले पार्टी कार्यालय धुम्बाराहीमा भेला गरेका छन् ।उनीहरुले आज बस्ने भनेको स्थायी कमिटीको बैठक के कारणले रोकिएको हो भन्दै नेतृत्वलाई प्रश्न गरेका छन् ।
भेलामा सहभागी स्थायी कमिटीका सदस्यले आज बस्ने भनेको स्थायी कमिटीको बैठक किन के कारणले रोकियो र अहिलेसम्म जानकारी दिइएन भन्दै नेतृत्वप्रति आक्रोश पोखेका एक सहभागी सदस्यले बताए ।

भेलामा सहभागी स्थायी कमिटीका सदस्यहरूले प्रधानमन्त्रीले संसद बोलाउन हुन्छ भने स्थायी कमिटीको बैठक पनि बोलाउन हुन्छ भन्दै अध्यक्षद्वयलाई माग गरेको गणेश साहले बताए । आज भएको भेलाले अध्यक्षद्वयलाई यथाशीघ्र स्थायी कमिटीको बैठक बोलाउन भेट्ने जिम्मा भीम रावल, जनार्दन शर्मा, हरिबोल गजुरेल, देव गुरुङ र रघुजी पन्तलाई दिएको साहले बताए ।

नेकपाको विधानमा स्थायी कमिटीको बैठक ३ महिनामा बस्नुपर्ने व्यवस्था छ । विधानअनुसार बस्नुपर्ने बैठक अध्यक्षद्वयले नबोलाएकाले आफूहरूले १० गते नै लिखित रूपमा बैठकको माग गरेको साहले बताए ।

उनले भने, ‘पार्टीको विधानअनुसार बैठक बस्नुपर्ने हो । हामी २० जना स्थायी कमिटीका सदस्यले हस्ताक्षर गरेर बैठकको माग गर्दा पनि अध्यक्षबाट टार्ने कोसिस हुँदै छ, हामी टार्न दिँदैनौँ ।’

आजको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्रीको राजीनामाको कुरा नउठे पनि पार्टी र सरकारको समीक्षा हुँदा उक्त विषय उठ्ने साहले बताए । बैठकमा पार्टीले गरेका र सरकारले गरेका कामको समीक्षा हुनेछ ।

‘यस्तो अवस्थामा पार्टीले र सरकारले कसरी काम गरिरहेको छ भन्ने हुन्छ । त्यसको मूल्याङ्कनको आधारमा आवश्यक परे प्रधानमन्त्रीको राजीनामाको कुरा आउन सक्छ,’ साहले भने, ‘पार्टी नेतृत्वले बैठक राखेर एजेण्डा तय गर्नुपर्छ । अहिलेको अवस्थामा कोरोना महामारीको अवस्थामा कसरी जाने, के गर्ने, अबको देशको आर्थिक अवस्था कस्तो हुने, किसान, मजदुरलगायतको हितमा के काम गर्ने भनेर पार्टीमा छलफल हुन आवश्यक छ । यसका लागि बैठक बोलाउनुपर्छ ।’

योभन्दा पहिला २० वैशाखमा बसेको सचिवालय बैठकले २५ वैशाखलाई स्थायी कमिटीको बैठक बोलाएको थियो । तर, २४ गते बसेको सचिवालयको बैठक विना निष्कर्ष सकिएपछि स्थायी कमिटीको बैठक पनि अनिश्चित बनेको छ ।

आजको भेलामा मणि थापा र टोपबहादुर रायमाझी उपस्थित थिएनन् । थापाले काम विशेषले काठमाडौंबाहिर भएकाले उपस्थित हुन नसकेको उनले बताए ।