Bagmati Samachar Logo

वामदेवको राष्ट्रिय सभाको बाटो बन्द

काठमाडौं । २० वैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभाको बाटो बन्द भएको छ । १४ फागुनमा बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो ।

उक्त निर्णय अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले मान्दैन भनेपछि सो निर्णय अलपत्र परेको थियो । अन्य सचिवालय सदस्य भने उक्त निर्णय कार्यान्वयन हुनु पर्नेमा अडिग थिए । तर, आज बसेको सचिवालयले गौतमलाई प्रतिनिधि सभामा लैजाने निर्णय गरेपछि गौतमको राष्ट्रिय सभामा जानेबाट बन्द भएको छ । गौतम आफैले नै राष्ट्रिय सभामा नजाने भनेपछि प्रतिनिधि सभामा लिने निर्णय गरेको स्रोतले बतायो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिबार बसेको सचिवालय बैठकले गौतमलाई प्रतिनिधि सभामा लैजाने निर्णय गरेको छ । आजको प्रतिनिधि सभा लैजाने निर्णयसंगै उनको राष्ट्रिय सभाको बाटो बन्द भएको हो । आजको बैठकमा नेताहरुले गुटका भेला नगर्ने सहमति गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टी सञ्चालनमा आफूबाट भएका कमीकमजोरीको लागि आत्मआलोचना गरेका छन् ।

उपाध्यक्ष वामदेव गौतमले आज उपरान्त कुनै पनि नेताले गुटका भेला नगर्ने प्रस्ताव गरेपछि सबै नेताहरुले सहमति जनाएको १ सचिवालय सदस्यले बताए ।

दुई पार्टी एकता भएदेखि नै नेकपामा पूर्व माओवादी र पूर्व एमालेको ट्याग कायमै छ । त्यसमा झन् सक्रिय गुटहरु छन् ।

नेकपामा अलिकति विवाद हुँदा गुटहरु सक्रिय हुने गरेका छन् । आजको सचिवालय बैठकमा गौतमले अबदेखि गुटका भेला भन्दा पनि पार्टीलाई एकताबद्ध गरेर लैजानुपर्ने आजको आवश्यकता रहेको धारणा राखेपछि सबै नेताहरु सहमत भएको स्रोतले बतायो ।

खतिवडालाई फाइदा

अर्थमन्त्री डा। युवराज खतिवडा राष्ट्रिय सभाको समय सकेर पुनः मन्त्री बनेका छन् । यदि गौतम राष्ट्रिय सभामा गएमा उनको राष्ट्रिय सभा जान पाउने संम्भावना सकिने थियो । तर, आजको निर्णले खतिवडालाई फाइदा भएको छ ।