Bagmati Samachar Logo

मुद्दा दर्ता होला सांसद बस्नेत र श्रेष्ठसँगै पूर्वआईजीपी खनालविरुद्धको

काठमाडौं । १६ वैशाख । सांसद अपहरण गरेको भन्दै अपहरणको जाहेरी दिनका लागि जनता समाजवादी पार्टीका नेताहरु काठमाडौंको जिल्ला सरकारी वकिलको कार्यालय पुगेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ) तथा पूर्व प्रहरीमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गर्न अपहरणमा परेका भनिएका सांसद डा.सुरेन्द्र यादव पार्टीका नेताहरुलाई लिएर बबरमहलस्थित जिल्ला सरकारी वकिलको कार्यालय पुगेका थिए ।

पूर्वराज्यमन्त्री यादवसँगै जनता समाजवादी पार्टीका नेताहरु राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठलगायत रहेका छन् ।

यसअघि यादवले महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिन खोजेपनि प्रहरीले दर्ता गर्न अस्वीकार गरेको थियो ।

बस्नेत, श्रेष्ठ र खनालले समाजवादी पार्टीका सांसद डा.यादवलाई १० वैशाखमा महोत्तरीबाट गाडीमा हालेर काठमाडौं ल्याएका थिए । डा.यादवले आफूलाई जबरजस्ती अपहरण गरेर काठमाडौं ल्याएको भन्दै कानुनी उपचार खोजेका हुन् ।

बस्नेत, श्रेष्ठ र पूर्वआईजीपी खनालले समाजवादी पार्टी विभाजनका लागि काठमाडौं ल्याएका थिए । उनीहरुले यादवले नै काठमाडौं जान चाहेको बताएपछि ल्याइएको स्वीकार गरिसकेका छन् ।

समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गरेका छन् ।

तर काठमाडौं ल्याएको भोलिपल्ट ११ वैशाखमा यादव मेरियट होटलबाट भागेर समाजवादी पार्टीका नेताहरुको सम्पर्कमा पुगेका थिए ।