Bagmati Samachar Logo

लकडाउन खुकुलो पार्ने सरकारको संकेत

काठमाडौं । ११ वैशाख । सरकारले छिमेकी मुलुकहरूमा कोरोना भाइरसको जोखिमको अवस्था हेरेर लकडाउन खोल्ने विषयमा निर्णय हुने बताएको छ । कोरोना संक्रमणको जोखिम नेपालमा पनि यथावत् रहेकाले लकडाउन खोल्ने निर्णय एकपक्षीय रूपमा गर्न नसकिने सरकारले बताएको हो ।

छिमेकी मुलुकहरूमा कोरोना नियन्त्रण र जोखिमको अवस्था हेरेर लकडाउन खोल्नेरनखोल्ने विषयमा निर्णय हुने सरकारका प्रवक्ता डा। युवराज खतिवडाले बताए ।

उनले भने, ‘छिमेकी मुलुकहरूमा कोरोना नियन्त्रण र जोखिमको अवस्था नहेरी एकपक्षीय ढंगले निर्णय गर्ने अवस्था रहँदैन ।’

लकडाउनको समयमा खुला सिमानाका कारण लुकीछिपी नेपाल प्रवेश गर्ने गरेको पाइएको उनले बताए । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले लुकीछिपी नेपाल आउनेहरूका कारण पनि नेपालमा कोरोना संक्रमणको जोखिम बढेको बताए ।

प्रवक्ता खतिवडाले छिमेकी मुलुकमा कोरोना रोकथामको प्रयास र नेपालमा स्वास्थ्य उपचारको पूर्वतयारी, स्वास्थ्य परीक्षणका विधि, उपकरण तथा स्वास्थ्यकर्मीलाई ध्यानमा राखेर लकडाउन खुल्ने बताए ।

प्रवक्ता खतिवडाले असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरूलाई काममा आवद्ध गर्न आधारभूत उद्योग, विकास निर्माणका काम र केही सेवा क्षेत्रहरू खुला गर्ने तयारी सरकारले गरेको पनि बताए ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नवलपरासी बर्दाघाट सुस्ता पश्चिम् र दाङ जिल्लाको छुट जग्गा नापजाँचका लागि सम्बन्धित जिल्लाका नापी कार्यालयहरूलाई खटाउने निर्णय गरेको छ । यस्तै, मुस्ताङ र काभ्रेपलान्चोक जिल्लाको जग्गा पनि पुनः नापजाँच गर्ने निर्णय भएको छ ।

बैठकले विद्युतसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

यसैगरी, जनस्वास्थ सेवा ऐन २०७५ अन्तर्गत पशु क्वरेनी निकायको अनुसन्धान तहकिकात गर्न ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुसन्धान अधिकारीको रूपमा तोक्ने निर्णय पनि बैठकले गरेको उनले जानकारी दिए ।

विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १० करोड अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मालपोत कार्यालयको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको छ ।