Bagmati Samachar Logo

प्रचण्ड नेपालको त्यो भेट जसले ओलीलाई अध्यादेशबारे सोच्न बाध्य बनायो

काठमाडौं । ११ वैशाख । ८ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएका २ अध्यादेश । ती २ अध्यादेशले जति देशमा हलचल ल्यायो, त्योभन्दा कैयौँ गुणा हलचल सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा ल्याएको छ ।

अध्यादेश ल्याएपछि नेकपाले सचिवालयको बैठक बोलायो । बैठक बसिरहेकै समयमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरिन् ।

अध्यादेश आफ्नो पार्टी फुटाउन नभएको भन्दै अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफ्नो मत राखेका थिए । उनले दलबदल कानुन लोकतान्त्रिक नभएकाले अहिले ल्याउनुपरेको भन्दै सबै सचिवालयका सदस्यलाई आश्वस्त पार्ने कोसिस गरे । तर, तत्कालीन माओवादी पक्ष भने उनको तर्कसँग आश्वस्त भएन ।

तत्कालीन एमालेका अझ ओलीनिकटले प्रचण्डलाई देखाउनु थियो । त्यही भएर अध्यादेश ल्याएको बताउन थाले । यसबाट प्रचण्ड झनै आक्रोशित भए । १० वैशाखमा प्रधानमन्त्रीले विभिन्न प्रदेशका सांसदलाई बालुवाटार बोलाएर अध्यादेशको बारेमा छलफल गरे ।

छलफलका साक्षी अर्का अध्यक्ष प्रचण्डलाई राखे । छलफलमा बसे पनि प्रचण्ड भने खासै नबोलेको सहभागी सांसद बताउँछन् ।

प्रचण्डलाई एक्लो महसुस

सचिवालय बैठकमा आफ्नै भनिएका रामबहादुर थापा बादल नबोलेपछि उनलाई आफू एक्लो भएको महसुस भएको उनीनिकट एक स्थायी कमिटी सदस्य बताउँछन् ।

गत पुसमा बनेको भैँसेपाटी गठबन्धनमध्येका एक हुन् वामदेव गौतम । गौतम पनि सचिवालय बैठकमा मध्यमार्गी रूपमा प्रस्तुत भए । अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पनि मध्यमार्गी रूपमै प्रस्तुत भए ।

प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यादेशको विरोध गरे । आफूले गौतमलाई संघीय सांसददेखि राष्ट्रिय सभाको सांसद बनाउनुपर्छ भन्दै भैँसेपाटी गठबन्धन बनाएको तर अध्यादेशजस्तो विषयमा पार्टीसँग छलफल नगरी नल्याउँदा पनि गौतम र नेपालले आफ्नो साथ नदिएको भन्दै प्रचण्ड रुष्ट बनेका थिए ।

उनले पूर्वएमाले मिलेर आफूलाई एक्ल्याउने खेलमा लागेको बुझेको एक स्थायी कमिटी सदस्य बताउँछन् । उनले भने, ‘यदि तत्कालीन माओवादीलाई किनारा लगाउने चाहना थिएन भने किन पार्टीमा छलफल नै नगरी ल्याएको अध्यादेशको विरुद्धमा बोल्नु भएन नेताहरु रु झलनाथ खनाल मात्र बोल्नुभयो । अरु नेताहरूले ओलीको कदम समर्थन गरेको बुझियो ।’

आजको प्रचण्ड–माधव नेपाल भेट

बिहीबार (आज) प्रचण्ड र माधवकुमार नेपालले नेपाल निवास कोटेश्वरमा भेटवार्ता गरे । बिहान नेपाल निवासमा भएको भेटमा प्रचण्ड कडा रूपमा प्रस्तुत भएको प्रचण्डनिकट एक नेताले बताए ।

प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘आज बिहान प्रचण्ड–नेपालबीच भएको भेटमा प्रचण्डले अब कित्ता क्लियर गरेर जानुपर्‍यो । यसरी जान सकिँदैन । म पनि आफ्नो कमद चाल्छु ।’

ती नेताका अनुसार प्रचण्डले आज नेपाललाई ‘आफू वारपार गरेर जान तयार रहेको, तपाईंहरू के गर्नुहुन्छ रु म यसरी बस्न सक्दिनँ । मलाई ठोस निर्णय गर्न दबाब परेकाले भेट्न आएको हुँ’ भनेपछि अध्यादेश प्रकरणले नयाँ मोड लिएको ती नेताको दाबी छ ।

प्रचण्डले नेपालसँग आफ्नो साथमा ६९ सांसद र १०४ जना केन्द्रीय सदस्य भएको बताउँदै ओलीसँग फाइनल कुरा गर्न नेपाललाई भनेको ती नेताको दाबी छ ।

प्रचण्डको सो अभिव्यक्तिपछि नेपाल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । नेपाल र ओलीबीच प्रचण्डको लाइनका विषयमा कुरा भएपछि बल्ल ओलीले प्रचण्डलाई बालुवाटार बोलाए ।

नेपाल र प्रधानमन्त्री ओलीबीच कुरा भएर अध्यादेश फिर्ता लिने सहमति भएपछि मात्र प्रचण्डलाई बालुवाटार बोलाइएको स्रोत बताउँछ ।

‘यदि प्रचण्ड कडा रूपमा प्रस्तुत नभएको भए अध्यादेश फिर्ता लिन ओली सकारात्मक हुने नै थिएन’, प्रचण्डनिकट स्रोत भन्छ ।

बालवाटारबाट फर्केपछि भैँसैपाटी गठबन्धनको बैठक सुरु भएको स्रोत बताँउछ । उक्त स्रोतले भन्यो, ‘बालुवाटार छलफल र प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिने वचन दिएपछि भैसैपाटी गठबन्धनको बैठक जारी छ ।’

सोमबारको सचिवालय बैठकमा मध्यमार्गी भएका गौतम अहिले भने भैँसेपाटी गठबन्धनमा लागेको एक नेताले बताए । स्रोतका अनुसार प्रचण्डले सचिवालय बैठकपछि गौतमलाई कता हो अब भनेर सोधेपछि आफूले गलत गरेको भन्दै अब त्यस्तो नगर्ने बताएको ती सदस्यले बताए ।