Bagmati Samachar Logo

थप तीनजनामा देखियो कोरोना पोजेटिभ, संक्रमितको संख्या ४५ पुग्यो

काठमाडौं । १० वैशाख । बुधबार थप तीनजनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण भएका नमुनामध्ये बुधबार तीनजनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।

प्रवक्ता डा. देवकोटाका अनुसार वर्ष २४, ६० र ७२ का पुरुषहरूको नमुना पोजेटिभ देखिएको हो । क्वारेन्टाइनमा रहेका ती संक्रमित व्यक्तिहरूलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको उनले बताए ।

यसैगरी बुधबार दुईजना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । सेती प्रादेशिक अस्पतालबाट २९ वर्षीय पुरुष १९ दिनपछि र शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुबाट ३२ वर्षीय पुरुष २९औँ दिनमा डिस्चार्ज भएका हुन् । मंगलबार सेती प्रादेशिक अस्पतालबाट २९ दिनपछि एकजना डिस्चार्ज भएको प्रवक्ता देवकोटाले बताए । बुधबारसम्म उपचारपछि निको भएर डिस्चार्ज हुनेहरूको संख्या सात पुगेको छ ।

अहिलेसम्म पिसिआर र आरडिटी विधिबाट गरी ४० हजार चार सय ३१ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट नौ हजार ११ र आरडिटी विधिबाट ३१ हजार चार सय ३० नमुना परीक्षण भएका छन् । गत २४ घन्टामा तीन हजार सात सय ३६ परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।