Bagmati Samachar Logo

उदयपुरको भुल्केमा ८ जनामा कोरोना आशंका, थप परीक्षणका लागि बीपी प्रतिष्ठान धरान लगिँदै

काठमाडौं । ९ वैशाख । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा थप आठ जनामा कोरोना संक्रमणको आशंकापछि धरान लगिएको छ ।

स्रोतका अनुसार कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट थप ८ जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरुलाई लिन प्रदेश १ सरकारले एम्बुलेन्स पठाएको थियो ।
संक्रमित भनिएकाहरुलाई विराटनगरस्थित कोशी कोरोना अस्पताल अथवा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कहाँ राख्ने भन्ने विषयमा धरानमा चिकित्सकबीच छलफलमा भएको थियो ।

‘‘लक्षण नदेखिएकोले उनीहरुलाई चिकित्सकको निगरानीमा उदयपुरमै आइसोलेसनमा राख्ने कि भन्ने पनि छलफल भएको थियो । तर, बीपी प्रतिष्ठान नै लगिएको छ ।’’
भुल्केमा मस्जिदमा बसेका दुई नेपालीसहित भारतबाट आएका ११ जना मुस्लिममा कोरोना पुष्टि भएसँगै नेपाली सेनाले भुल्के आसपासको बस्तीमा तीन दिन लगाएर स्वाब संकलन गरेको हो । त्यहाँ तीन दिनमा ३ सय २१ जनाको स्वाब संकलन गरिएको थियो ।

पहिलो दिन वैशाख ६ गते शनिबार संकलन गरेको ६९ वटा स्वाब कोशी अस्पताल परीक्षण भएको थियो ।

प्रदेश १ जनस्वास्थ्य प्रयोगशाला विराटनगरका निर्देशक डा. जयवेन्द्र यादवले संक्रिमत भनिएकाहरुलाई उदयपुरबाट ल्याएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै राख्ने भएपनि त्यहाँ प्रतिष्ठानकै नियमअनुसार हुने जानकारी दिएका छन् । उनले भने,‘‘संक्रमितलाई अलग्गै के कसरी राख्ने हो भन्ने प्रतिष्ठानकै नियमअनुसार हुने विषय हो ।’’

प्रदेश सरकारले प्रतिष्ठानमा पनि आईसोलेसन बनाएको छ ।