Bagmati Samachar Logo

भारतीय क्वारेन्टाइनमा किरिया बसेका वासुदेवकालागि खुल्यो महाकालीको पुलको ढोका

काठमाडौं । ७ वैशाख । भारतको धार्चुलाको बालुवाकोट क्वारेन्टाइनमा नै आमाको मृत्यु भएपछि किरिया बसेका वासुदेव भट्ट आज नेपाल आइपुगेका छन् । उनको आमाको यही वैशाख २ गते मृत्यु भएको थियो ।

आमाको मृत्यु हुँदा पनि नेपाल आउन नपाउँदा भट्ट क्वारेन्टाइन बसेको स्थानमा नै किरिया बसेका थिए ।
उनी ६ दिन भारतको क्वारेन्टाइनमा नै किरिया बसेका थिए ।

भट्टले ढिलै भए पनि नेपाल आउन पाएकोमा राम्रो लागेको बताए । ‘नेपाल सरकार, पत्रकार दार्चुलाका सिडिओ सबैको मिहिनेतले म नेपाल आउन पाए ।’ उनले भने, ‘अब मेडिकल टेस्ट गरेपछि आजै घर जान्छु । मेरो लागि पहल गरीदिने सबैलाई धेरैधेरै धन्यवाद ।’

उनी क्वारेन्टाइनमा नै किरिया बसेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि सरकारले उनलाई नेपाल ल्याउन पहल गरेको थियो । भट्टलाई नेपाल ल्याउन दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले निरन्तर पहल गरेका थिए । उनलार्ई नेपाल ल्याउन पौडेलले भारतीय पक्षलाई पत्र लेखेर नेपाल पठाइदिन भनेका थिए ।
भारतको पक्रिया झन्झटिलो भएकाले भट्ट घर फर्किन समय लागेको बताइएको छ । आज भने भारतले भट्टलाई नेपाल पठाउने भएको प्रजिअ पौडेलले बताए । उनले भने, ‘आज बासुदेव भट्टलाई नेपाल ल्याउँदै छौँ । उहाँलाई ल्याउन नेपाललाई भन्दा पनि भारतीय पक्षले दिल्लीसम्म सोध्नु परेकाले ढीला भएको हो ।’

प्रजिअ पौडेलले भट्टलाई ल्याउन सीमाको पुल गेटमा गाडी र सुरक्षाकर्मी तयारी अवस्था रहेको बताए । ‘अब केही समयमा उहाँलाई गेट खोलेर नेपाल ल्याउँने छौँ । भट्टको लागि पुलको गेटमा नै गाडी र सुरक्षाकर्मी तयारी अवस्थामा छन् ।’ उनले भने, ‘भट्टलाई लिएर हामी सदरमुकाम अस्पताल जाने छौँ । चेकजाँच गरेपछि मात्र उनलाई घर छोड्ने तयारी गरेका छौँ ।’

उता भट्टको घर भएको शैल्यशिखर नगरपालिकाको वडा कार्यलयले पनि उनलाई घर ल्याउन एम्बुलेन्स पठाएको वडाध्यक्ष भरत खडायतले जानकारी दिए । उनले भने, ‘सदरमुकामको अस्पतालमा उनको कोरोना भाइरसको परिक्षण भए र रिपोर्ट आएपछि हामी एम्बुलेन्समा राखेर घर ल्याउने र क्वारेन्टाइनमा राख्ने छौ ।’
भट्ट आमाको मृत्यु भएको छैटौँ दिनमा नेपाल फर्किन लागेका हुन् । उनी भारतमा रहँदा सडकमा दैनिक मजदुरी गर्दथे ।

कोरोना महामारी फैलिएपछि काम रोकिँदा घर फर्किने बेला लकडाउनका कारण उनीसहित धेरै नेपाली भारतीय क्वारेन्टाइनमा बसेका छन् ।