थुनामा पठाउनुअघि अभियुक्तको कोरोना परीक्षण गर्न अदालतको आदेश
संक्रमण देखिए निको पारेर मात्र कैद पठाउनू
काठमाडौं । ५ वैशख । कर्तव्य ज्यान मुद्दा अभियोगमा थुना पठाउनुपर्ने कैदीलाई कोरोना भाइरस परीक्षण गरेर मात्र कैदमा पठाउन अदालतले आदेश दिएको छ ।
चितवन जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा तत्काल प्राप्त प्रमाणबाट दोषी देखिएको भन्दै १ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
तर, इजलासले प्रतिवादीको कोरोना भाइरस परीक्षण भएको नदेखिएको भन्दै आरडीटी या पीसीआर परीक्षण गरेर मात्र थुनामा पठाउन भनेको छ ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले छिमेकीको हत्या गर्ने चितवनकै हरिकृष्ण पाध्यालाई थुनामा पठाउने आदेश जारी गर्दै कोरोना संक्रमण भए नभएको यकिन गरेर मात्र कारागार पठाउन आदेश दिएको हो ।
ुनिजलाई थुनामा पठाउनुपर्ने देखिए पनि गत ६ चैतमा पक्राउ परी हिरासतमा रहेका प्रतिवादीको हालसम्म कोरोना परीक्षण भएको नदेखिँदा परीक्षणपछि संक्रमण नभएको एकिन भए मात्र पुर्पक्षका लागि थुनामा राख्नु,’ आदेशमा उल्लेख छ ।
अदालतले संक्रमण भेटिएमा जिल्ला अस्पतालमा सरकारी खर्चमा उपचारको व्यवस्था मिलाउन र क्वारेन्टाइन, आइसोलेसन के आवश्यक पर्छ सो अनुसार व्यवस्था गरी उपचारपछि मात्र थुनामा पठाउने व्यवस्था मिलाउन आदेश दिएको हो ।
गत ३० फागुनमा पाध्याले घरायसी झगडामा छिमेकीलाई कुटपिट गरी घाइते बनाएको र ६ चैतमा घाइतेको मृत्यु भएको थियो । अदाललते प्रारम्भिक सुनुवाईपछि थुनामा राखेर मुद्धाको पुर्पक्ष गर्नुपर्ने देखिएको भन्दै कोरोना नभएको एकिन भएपछिमात्र थुनामा राख्न भनेको हो ।
प्रतिक्रिया दिनुहोस्: