सनसिटी अपार्टमेन्टमा कोरोना परीक्षण सुरु
काठमाडौं । ३ वैशाख । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना भाइरस (कोभिड–१९) परीक्षण सुरु भएको छ ।
कागेश्वरी मनहोरा नगरपालिकाले दिएको जानकारी अनुसार आज बुधबार बिहान साढे नौ बजेबाट र्यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट परीक्षण सुरु भएको छ ।
हिजो मंगलबार ब्लक ‘ए’ मा बस्दै आएका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि सो अपार्टमेन्टलाई शिल गरेर त्यहाँ रहेका सबैजनाको कोरोना परीक्षण गर्न लागिएको हो । सनसिटीमा पाँच वटा ब्लक छन् । त्यहाँ ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।
स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिकहरूलाई प्राथमिकता दिएर तीन वटा टेबलबाट परीक्षण भइरहेको छ । आज बुधबार ब्लक ‘ए’ का २४२ जनाको परीक्षण गर्न लागिएको बताइएको छ ।
ब्लक एु का सबैको र्यापिड टेस्ट रिपोर्ट नेगेटिभ
सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोना संक्रमितको ब्लक एु मा बस्ने सबैको र्यापिड टेस्टको नतिजा नेगेटिभ देखिएको छ।
बुधबार बिहान गरिएको परीक्षणमा संक्रमित बस्ने ब्लक ‘ए’ का २ सय ४२ जनाकै र्यापिड टेस्टको नतिजा नेगेटिभ आएको हो।
दुई जना कामदारको थप पिसिआर परीक्षणको लागि स्वाब पनि लिइएको छ।
स्वाब परीक्षणको नतिजा आएपछि कामदारहरूमा कोरोना भाइरस रहेको वा नरहेको भन्ने प्रस्ट हुन्छ।
गत चैत ५ गते बेलायतबाट आएका एकै परिवारका दुई सदस्य (आमा र छोरा)लाई कोरोना पोजेटिभ देखिएपछि सो अपार्टमेन्टमा रहेकाको आजबाट र्यापिड टेस्ट सुरू गरिएको हो।
संक्रमित दुई जना पाटन अस्पतालको आइसोलेसनमा छन्।
सोही परिवारका अर्का एक जना महिला (बुहारी)को पनि परीक्षण गर्दा पहिलो चरणमा रिपोर्ट नेगेटिभ आएको थियो। उनको दोस्रो चरणमा परीक्षण हुनेछ। उनी पनि अस्पतालमै छिन्।
प्रतिक्रिया दिनुहोस्: