भारतका मिडियाले खेदेका जालिम मुखिया भन्छन्ः म जनताको हिरो हुँ
काठमाडौं । ३० चैत । शुक्रबार एकाएक नेपाल भारत दुवै देशमा चर्चामा आए पर्सा जिल्लाको जगनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया मन्सुरी । तर उनी चर्चामा आउदा भने जालिम मुखियाका नामले चर्चामा आए ।
उनी चर्चामा आउनुको कारण भने फरक छ । नेपालमा पनि धेरै चर्चा नपाएका जालिम मियाँलाई एकाएक शुक्रबार भारतीय टेलिभिजन जी टिभीले प्राथमिकतामा राखेर समाचार बजायो ।
समाचार विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड–१९)सँग जोडिएको थियो । विश्वभर महामारी बनेको कोरोना भाइरसले शक्तिशाली देशहरुलाई घुडा टेकाइरहेको अवस्थामा भारतीय मिडियाले गरेको गलत प्रचारको शिकार भए मियाँ ।
आफूलाई कोरोना भाइरस फैलाउने व्यक्तिका रुपमा गलत प्रचार गरिएको र आफुलाई कुप्रचारको शिकार बनाइएको बताउँछन् जगनाथ गाउँपालिकाका अध्यक्ष जालिम मिया मन्सुरी ।
शुक्रबार भारतीय टेलिभिजनले नेपालको पर्सा जिल्ला जगनाथ गाउँपालिकाका अध्यक्ष जालिम मुखियाले ४०–५० जना कोरोनाका विमारीलाई भारत पठाउने तयारी गरेको भन्दै समाचार प्रशारण गरे ।
समाचारमा विहारको पश्चिम चम्पारण, वेतियामा पठाएको पत्रलाई आधार बनाइएको छ । पत्रमा कोरोना संदिग्धलाई भारत पठाउनमा नेपालका जगनाथपुरका जालिम मुखियाले योजना बनाइरहेको बताइएको छ ।
उक्त पत्रलाई आधार बनाएर कोरोनाका बम नेपालबाट भारत पठाइदै भनेर भारतीय टिभी च्यानलले समाचार बजाए शुक्रबार दिनभर ।
को हुन जालिम मिया रु
जालिम मुखियाको पुरा नाम हो जालिम मियाँ मन्सुरी । उनले ७ कक्षा सम्म गाउँको गणेश प्राविमा पढे । कक्षा ७ भन्दा बढी आफुले नपढेको बताउँछन् मियाँ ।
‘म कक्षा ७ मा पढ्दादेखि नै गाउँमा भएका अन्याय अत्याचारको विरुद्ध बोल्न थाले । त्यसपछि गाउँका सामन्तले मेरो विरुद्ध उजुरी गरेर सार्वजनिक मुद्दा लगाउन थाले । पढाइ पुरा गर्न पाइन,’ मियाँले शिलापत्रसँग भने ।
उनी जुवा तासको विरोध गर्दा गाउँका ठूला ठालुले प्रशासन लगाएर आफूलाई विगतमा पनि पटक पटक दुःख दिएको बताउँछन् ।
कलिलै उमेरमा राजनीतिमा लागेका मियाँ साहु महाजन र प्रशासनको आँखामा परिसकेका थिए । २०२९ सालमा गाउँ पञ्चायतको चुनाव भयो । मियाँलाई पनि यो समयको सदुपयोग गर्नुपर्ने थियो ।
पढाइ पहिला नै छोडेका मियँका लागि यो चुनाव राजनीतिमा हाम फाल्ने सुवर्ण अवसर बन्यो । जनसंख्याको हिसाबले पनि मुस्लिम बाहुल्य क्षेत्र उनको । त्यसमा पनि युवा ।
उनले पनि वडा अध्यक्षमा उम्मेदवारी दिए । नभन्दै त्यो बेलाको जगनाथ गाउँपञ्चायतको चुनावमा १ नम्बर वडाको वडा अध्यक्ष जिते । उनी भन्छन, ‘म राजनीतिमा सानै उमेर देखि लागेको हुँ । जनताको सेवा गर्न राजनीतिमा आएको हुँ । त्यो सानो उमेरमा जनताले मलाई पत्याए । १९ बर्षमा वडा अध्यक्ष भएँ ।’
वडा अध्यक्ष जितेपछि मियाँमा राजनीतिमा रस बस्दै गयो । आफुभन्दा ठूलाबडा र साहु महाजनलाई हराएपछि राजनीतिमा पछाडि फर्केर हेर्नु नपरेको उनको दावी छ ।
पाँच बर्षपछि २०३५ सालमा उनले गाउँ पञ्चायतको चुनावमा प्रधानपञ्चमा उम्मेदवारी दिए । त्यो बर्ष तीनवटा गाउँ पञ्चायत मिलाएर जगनाथ गाउँ पञ्चायत बनेको थियो । जगनाथपुर, पिडारी र विजवनियाँ गाउँ पञ्चायत मिलेर बनेको जगनाथपुरका प्रधानपञ्चमा उनी विजयी भए ।
जालिम मियाँको परिचय त्यसपछि परिवर्तन भयो । अब उनी गाउँ पञ्चायतको मुखिया बने । तराइमा प्रधानपञ्चलाई मुखिया भन्ने चलन छ । उनी जालिम मियाँ बाट जालिम मुखिया बने । सबैका मुखिया ।
त्यहि मुखियाको पदवी अहिलेपनि उनीसँगै जोडिएको छ । उनले २०३५ सालको चुनावमा गुजरात राउतलाई हराए । राउतले हारे जालिमले प्रधानपञ्चमा जिते । गुजरातले २१ मत पाए । त्यो समयमा एक वडाबाट पाँच जना सदस्यले भोट हाल्न पाउँथे ।
उनी भन्छन् ‘मैले त्यो चुनावमा २४ भोट पाएको थिए । एक भोट रद्ध भयो । २३ भोट सदर भयो । म त्यो समय देखि जनताको सेवामा लागेको मानिस हो ।’
पञ्चातको अन्त्यसँगै उनले पार्टी परिवर्तन गरे । पञ्चायत छोडेर कांग्रेस प्रवेश गरे । कांग्रेस प्रवेश गरेपछि इलाका समिति सदस्य हुँदै महासमिति सदस्य भए ।
उनले २०४६ सालपछि उनका भाइ मोहमम्द सलिम पनि गाविस अध्यक्ष भए ।। भाइले स्थानीय निकायमा चुनाव जिते पछि जालिम भने जिल्लाको राजनीतिमा लागे ।
भाइले स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव जितेका थिए । उनी भन्छन् ‘हाम्रोे लोकप्रियता थियो र स्वतन्त्र रुपमा चुनाव लड्दा पनि मेरो भाइले चुनाव जितेको हो । जनताको सेवा नगरेको भए कसले भोट दिन्थ्यो ।’
अनि माओवादी
उनी राजनीतिमा एक ठाउँमा बस्न सकेनन् । शान्ति प्रक्रियासँगै राजनीतिक पार्टी परिवर्तन गरे । बहुदलपछि कांग्रेस बनेका जालिमलाई कांग्रेसपनि राम्रो लाग्न छोड्यो । शान्तिप्रक्रियापछि माओवादीमा प्रवेश गरे ।
भन्छन्, ‘कांग्रेस यथास्थितिमा बस्न थाल्यो । उसलाई गणतन्त्रमा पनि माओवादीले ल्यायो । मलाई यस्तो यथास्थितिमा रमाउने पार्टीमा बस्न मन नलागेर माओवादीमा प्रवेश गरे ।’
उनको माओवादी पार्टी प्रवेशको यात्रा पनि रोचक छ । २०६२–०६३ सालको जनआन्दोलन सफल भयो । विस्तृत शान्ति सम्झौता भयो । उनले पर्साको वीरगन्जमा मुस्लीम हकहित संघर्ष समिति बनाए ।
समितिको तर्फबाट वीरगन्जमा ठूलो सभा गरे । सभामा माओवादी र कांग्रेसका नेताहरु बोलाए । नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र माओवादीको तर्फबाट टोपबहादुर रायमाझी कार्यक्रममा उपस्थित थिए ।
मियाँले आफ्नै पार्टीका नेता सिटौलाको सट्टा रायमाझीलाई प्रमुख अतिथि बनाएपछि कांग्रेसले उनको आलोचना गर्यो ।
मियाँ भन्छन्, ‘मैले आयोजना गरेको संघर्ष समितिको सभामा प्रमुख अतिथि माओवादीका टोपबहादुर रायमाझीलाई बनाए । सिटौलालाई अतिथिमात्र राखे । मलाई कांग्रेस छोडन् मन लागेको थियो । त्यहि दिन रायमाझीले माओवादीमा आउ भनेपछि माओबादी बने ।’
मियाँ सम्झन्छन्, ‘त्यसबेला माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० नयाँ बजार बस्थे । घरमै गएर भेटघाट गरेपछि प्रचण्डकै सल्लाहमा जगनाथपुरमा आमसभा गरेर माओवादी प्रवेश गर्ने योजना बनाएर घर फर्के ।’
माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि मियाँले जगनाथपुरमा आमसभा आयोजना गरे । प्रचण्ड गिरीराजमणि पोखरेल र टोपबहादुर रायमाझीलाई हेलिकप्टरमा राखेर आमसभालाई सम्बोधन गर्न जगनाथपुर पुगे ।
त्यहि आमसभाबाट उनी प्रचण्डको हातबाट टिका लगाएर माओवादी प्रवेश गरेका थिए । माओवादीले उनलाई केन्द्रीय सल्लाहकार समितिको सदस्य बनाएको थियो ।
राजनीतिक प्रतिशोध लिइयो
यति हुदा पनि खासै चर्चामा नआएका मियाँ कोरोना भाइरसको महामारीमा भने नेपाल र भारतमा चर्चामा आएका छन् । उनलाई चर्चामा राजनीतिले भन्दा पनि कोरोना भाइरसले ल्याएको छ ।
तर मियाँ भने राजनीतिक रुपमा नै आफ्नो चरित्र हत्या गर्ने काम भएको बताउँछन् । जालिम भन्छन्, ‘म माओवादी प्रवेश गरेपछि मेरो पछाडि केही राजनीतिक दलका मानिसहरु लागेका छन् । जसले मेरो राजनीतिक चरित्र हत्या गर्न चाहन्छन् । त्यहि भएर विना आधारको हल्ला भारतीय मिडियामा फैलाएका हुन ।’
भारतीय मिडियामा समाचार बनेपछि नेपालमा पनि उनको खोजी सुरु भयो । उनको दिनचर्या मिडियालाई आफ्नो कुरा भनेर बित्ने गरेको छ । उनी भन्छन्, ‘यो मेरो राजनीतिक चरित्र हत्या गर्न गरिएको प्रोपोगाण्डा हो ।’
उनी थप्छन्, ‘जति हल्ला गरेपनि सत्य सत्य हो । झुठ झुठ नै हो । छिटै झुटको पर्दाफास हुनेछ । सत्यको जित हुन्छ किनकी म जनताको हिरो हुँ ।’
शिलापत्र डटकमबाट
प्रतिक्रिया दिनुहोस्: