Bagmati Samachar Logo

नवलपरासीमा कुहिएको चामल बाँडियो

हटौडा । २८ चैत । नवलपरासीको रामग्रम नगरपालिकाले विपन्न परिवारलाई वितरण गरेको राहत खाद्यान्न कुहिएको बाँडिएको छ । नगरपालिकाले वितरण गरेको राहत सामग्री गुणस्तरहिन र तौल कम भएपछि स्थानीयले नगरपालिकामा लगेर फालिदिएका छन् ।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी वाशुदेव दाहलले कुहिएको खाद्यान्न नगरपालिकामा फिर्ता गरेको सुनेपछि उक्त खाद्यन्न बुझ्नको लागि अन्य सरोकारवाला सहितको टोली त्यसतर्फ पठाएको जानकारी दिए ।

वडा नम्वर ११ मा विपन्नलाई वितरण गरिएको राहत सामग्री अधिकांशले नगरपालिकामा फिर्ता गरेको उपमेयर रम्भा कुँवरले बताइन् । उनले भनिन्, ‘अस्ति विपद् ब्यवस्थापन समितिको बैठक बस्यो । दैनिक गरि खानेहरुलाई राहत वितरण गरौं भनेर निर्णय गरियो ।

त्यसपछि हाम्रो काम सकियो । मेयर साव र प्रमुख प्रशासकिय अधिकृत खरिद गर्न जानु भयो । उहाँहरुले १० किलो चामलको पोका पार्नु भएको थियो । मैले हेर्दा चामल कालो थियो । ढुङ्घा पनि थिए । त्यस पछि मैले मेयर साव र प्रमुख प्रशासकिय अधिकृतलाई यस्तो बिग्रेको चामल वितरण गर्दा जनभावनामा चोट पर्छ भनेकी हुँ तर मान्नु भएन। ’
कोरना संक्रमणपछि भएको लक डाउनमा बिपन्न्न परिवरलाई नगरपालिकाले बितरण गर्न खरिद गरेको चामल रामग्राम नगरपालिका ६ मा रहेको राजेश राईस मिलबाट ४० रुपैया किलोको दरमा खरिद गरेको थियो ।

सोयाबिन र अन्य सामान भने भैरहवाबाट खरिद गरिएको नगरपालिकाका कर्मचारीले बताए । रामग्राम नगरपालिकाले वितरण गरेको सबै वडाको राहत अहिले नगरपालिकामा फिर्ता गरिएको छ । रामग्राम नगरपालिकाले नगरका २ हजार ३ सय जना बिपन्न परिवारलाई वितरण गर्ने गरि प्रत्येक वडामा राहत सामग्री पठाएको थियो ।

पठाएको राहत सामग्री गुणस्तरहिन भएको गुनासो आएपछि कतिपय बडामा राहत वितरण विहिवार नै बन्द गरिएको थियो । नगरपालिकले पठाएको १० किलो चामलमा आधा किलोदेखि १ किलोसम्म कम रहेको उपमेयर कुँवरको भनाइ छ ।

सोना मनसुली चामल भनेर खरिद गरिएको चामल गोल्डेन मोटा चामल रहेको छ । रामग्रम नगरपालिकाले विपन्न परिवारलाई वितरण गरेको राहात सामाग्री गुणस्तरहिन र तौल कम भेटीए पछि नगरप्रमुख नगेन्द्र गुप्ताले आफुले नै त्यसको नैतिक जिम्मेवारी लिने सञ्चाकर्मीहरुसँग बताए ।

यसबारे बुझ्न जिल्ला प्रशासनले प्रसासकिय अधिकृत सागर गौतमको अध्यक्षतामा समिति गठन गरेको छ । समितिले चामल र सोयाबिनको गुणस्तर मापन गर्न लिएर गएको छ ।