Bagmati Samachar Logo

कोरोनाविरुद्धको लडाइमा सहकार्य सशक्त बनाउन ओली–मोदी सहमत

काठमाडौं । २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरस विरुद्धको लडाईमा सहकार्य गर्ने सहमति भएको छ ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भएको टेलिफोन वार्ताका क्रममा एक अर्काको देशमा लकडाउनका कारण रोकिएका नागरिकलाई आ–आफ्नो देशमा हेरचाह गर्ने पनि सहमति भएको छ ।
सामाजिक सञ्जाल ट्विटमार्फत प्रधानमन्त्री ओलीले टेलिफोन संवादका क्रममा कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउन आफूहरु सहमत भएको जानकारी दिएका हुन् ।

दुई प्रधानमन्त्रीबीचको वार्तामा आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज तथा सुचारु राख्न छलफल भएको छ । भारत सरकारले उपलब्ध गराउने औषधी लगायतको सहयोगतका लागि समेत प्रधामनन्त्री ओलीले मोदीलाई धन्यवाद दिएका छन् ।