युवा संघद्धारा पर्सामा खाद्यान्न वितरण
राहुल गुप्ता
विरगञ्ज । चैत्र १८ । राष्ट्रिय युवा संघ नेपाल पर्साले अलपत्र परेका मानिसहरुलाई खाद्यान्न वितरण गरेको छ । वीरगंज रक्सौल मितेरी पुलमा अलपत्र परेका भारतीय नागरिकलाई सत्तारुढ युवा संघले खाद्यान्न वितरण गरेको पर्साका संयोजक महम्मद निजामुद्दिनले बताए ।
नेपालको विभिन्न शहरबाट वीरगंजहुँदै रक्सौलबाट गन्तव्यमा जान लागेका उनीहरुलाई रक्सौल नाकामा बसेका भारतीय प्रहरीले प्रवेशमा रोक लगाएपछि उनीहरु मितेरी पुलमै बसीरहेका छन् ।
नेपाल फर्कँन पनि नदिने र आफ्नो घर जान पनि आफ्नै सरकारले रोक लगाएपछि उनीहरुलाई अहिले खान, बस्न समस्या परेको छ ।
मितेरी पुलमा भारतीय नागरिक अलपत्र परेको जानकारी आएपछि आफूहरुले तत्काल २० कार्टुन पानी, भुजा, बिस्कुट, चाउचाउ लगेर वितरण गरेको युवा संघ पर्साका संयोजक महम्मद निजामुद्दिनले बताए ।
राहत वितरण गर्न संघका केन्द्रीय सदस्य अरुण यादव, विमल पौडेल, मुकेश पाल लगायतको उपस्थिति रहेको थियो ।
दुवै देशबीच रोटी बेटीको सम्बन्ध रहेकाले भारतीय नागरिक अलपत्र पर्दा उनीहरुलाई सहयोग गर्नु आफूहरुको दायित्व बन्ने पनि उनले बताए ।
नेपालका विभिन्न शहरबाट आइपुगेका एक हजारभन्दा बढी भारतीय नागरिक भारत छिर्न नपाउँदा मितेरी पुलमा अलपत्र परेर बसेका छन् ।
प्रतिक्रिया दिनुहोस्: