कोरोना संक्रमित भन्छन्ः म ठीक छु अब एउटा सिटामोल बाँकी छ
यस्तो रहेछ ‘ट्राभल हिष्ट्री’
काठमाडौं । १५ चैत । दुई महिनाको छुट्टी मनाएर करिब चार महिनाअघि मात्रै म कामका निम्ति दुबई गएको थिएँ । तर, दुबईमा कोरोना भाईरसको संक्रमण फैलिएपछि कम्पनीले घर बिदा दियो । चैत ७ गते म फ्लाई ईमिरेटसको विमानमार्फत् भारतको दिल्ली आएँ । त्यहाँबाट बिस्तारा एअरलाईन्सको कनेक्टिङ फ्लाईटमार्फत् त्यसै दिन काठमाडौं आएँ ।
धापासीबाट मामाको छोरा मलाई लिन मोटरसाईकलमा आएका थिए । त्यो दिन त्यहीँ बसेर भोलिपल्ट चैत ८ गते दिउँसो २ बजेको बुद्ध एअरको विमानबाट नेपालगंज पुगेँ । त्यहाँबाट अटो चढेर कोहलपुर र त्यहाँबाट माईक्रो चढेर राति घर आएँ । घर आएको भोलिपल्ट हल्का ज्वरो आयो । अलिअलि कफ पनि आएको थियो । घरका मान्छेले अस्पताल जानुस् भनेपछि म ११ गते मामाकै छोराको मोटरसाईकल चढेर सेती अञ्चल अस्पताल आएँ ।
डाक्टरहरूले मेरो छातीको एक्स(रे गरे । रगत र पिसाबको जाँच गरे । त्यतिबेला सबै नर्मल देखिएको छ भनेका थिए । मेरो नाक र घाटीबाट र्यालजस्तो पदार्थ निकालेर काठमाडौंमा जाँच गर्न पठाएका थिए । हिजो ९शुक्रबार० पो काठमाडौंमा गरिएको परीक्षणमा मलाई कोरोना संक्रमण भयो भन्ने कुरा सुनेँ । यो कुरा पनि परिवारका मान्छेले भनेर मात्र थाह पाएको हुँ ।
अस्पतालका डाक्टरले त औपचारिक रूपमा यति पनि जानकारी दिएका छैनन् । मलाई कसरी कोरोना लाग्यो होला भनेर छक्क परेको छु । जबकि म दुबईबाट आउँदा नै बढो ख्याल गरेर आएको थिएँ । मैले मास्क लगाको लगाई गरेको थिएँ । उतै किनेको स्प्रे गर्न मिल्ने स्यानिटाइजर पनि हातमा दलिरहन्थेँ । म ३५ वर्षको भएँ । सुगर, प्रेसरजस्तो केही रोग पनि ममा थिएन ।
अस्पतालमा म एउटा कोठामा थुनिएजस्तो भएको छु । मलाई संक्रमणको पुष्टि भएपछि आज परिवारका मबाहेकका ८ जना नै जाँचका लागि अस्पताल आउनु भएको छ । हिजोअस्ति त परिवारकै मान्छेले खानेकुरा ल्याईदिन्थे । अब आजबाट कसले पो ल्याईदेला रु आज बिहान दाइले रोटी तरकारी ल्याईदिएका थिए । त्यही खाएँ । केही फलफूल पनि छ कोठामा । आज त्यसैले खाजा टार्नुपर्ला ।
अस्पतालले खासै राम्रोसँग उपचार गरिरहेजस्तो पनि देखिन्न । सुरुको दिन जाँचपछि मलाई सिटामोल दिइएको थियो । आजसम्म त्यही मात्रै हो मैले खाएको । अब एउटा सिटामोल बाँकी छ । कोठाभित्र अस्पतालको भन्नु एउटा बेड र झुल मात्रै हो । पानी पनि घरकाले नै मिनरल वाटर किनेर ल्याइदिएका छन् । घरबाटै ल्याएको बेड सेट, पानी तताउने इलेक्ट्रिक केटली छ । त्यसैमा पानी तताएर खाइराछु ।
मलाई कस्तो छ, के भइरहेको छ भनेर परीक्षण पुष्टि भएपछि कुनै डाक्टरले सोधेका छैनन् । म त अचम्ममा परेको छु । दाइले ल्याइदिएको थर्मोमिटरले आफैँले ज्वरो नापेको छु । हिजो बिहान ९६ डिग्री थियो । आज बिहान नाप्दा ९७ रैछ । घाटी दुख्ने, छाती दुख्ने केही पनि भएको छैन ।
सुतिराख्दा पनि पट्यार लाग्छ भनेर कोठामै यताउती हिँडेजस्तो गर्छु । समय कटाउन मोबाइलमा गेम खेल्छु । आफन्तले सन्चो बिसन्चो सोधेर फोन गर्छन् । उनीहरूसँग कुरा गरेर समय कटाउँछु । बेला बेला मोबाइलमा डाटा किनेर फेसबुक पनि हेर्छु ।
बेलाबेला दिक्क लाग्छ । संसारभर महामारी चलेको छ । मान्छेहरू मरेका छन् भनेको सुन्दा डर पनि लाग्छ । तैपनि घरपरिवारकाले चिन्ता नगर भनेर सम्झाउँछन् । आफैँले आफ्नो मन बुझाउन खोज्छु ।
(अस्पतालमा रहेका संक्रमितसँग गरिएको कुराकानी)
शिलापत्र डटकमबाट साभार
प्रतिक्रिया दिनुहोस्: