Bagmati Samachar Logo

कोरोनाको त्रासः प्रदेशसभा बैठक स्थगित गर्न सांसदको माग

हेटौंडा । ४ चैत । कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रासले बागमती प्रदेश सभाको बैठक स्थगित गर्न सांसदहरुले माग गरेका छन् ।
मंगलबार बसेको बागमती प्रदेश सभामाककको बैठकमा विशेष समयमा बोल्ने सांसदहरुले सभा सञ्चालन नगर्न सभामुखसँग माग गरेका हुन् । संक्रमणको जोखिम हुनसक्ने भन्दै बैठक स्थिगित गर्न माग गरेका छन् ।
सांसद बिराजभक्त श्रेष्ठले कोरोनाका कारण होटल तथा पर्यटन क्षेत्रमा लगानी गर्ने व्यवसायीहरुको लगानी धरासायी बन्न पुगेको भन्दै बैंकले लिने ब्याजमा सहुलियत तथा अनुदान दिनुपर्ने बताए ।
सांसद न्हुच्छेनारायण श्रेष्ठले सरकारले ठूला सभा, सम्मेलन, जमघट जस्ता गतिविधि नगर्न आग्रह गरिरहँदा प्रदेशका सबै माननीय जनप्रतिनिधीहरु बैठकमा बस्नु जोखिमको हिसाबले उपयुक्त नहुने भन्दै बैठक स्थगन गर्न आग्रह गरे ।

सांसद राजेन्द्र पाण्डेले विकसित मुलुकहरुमा कोरोनाबाट संक्रमित व्यक्तिहरुको मृत्यु भइरहेकोले प्रदेश सरकारले पनि नागरिकको स्वास्थ सुरक्षामा विशेष चासोका राख्नु पर्ने र संक्रमितको उपचारका लागि भौतिक र प्राविधिक रुपमा पूर्व तयारी अपनाउन आग्रह गरे ।

सांसद रिता माझीले कोरोनाको नाममा व्यापारीले कृतिम अभावको सिर्जना गरी बजारमा कालोबजारी सुरु गरेको भन्दै यसलाई नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराइन् ।

बैठकमा साँसदहरु निमा लामा, प्रदीपकुमार कटुवाल, प्रेमबहादुर पुलामी, सुरेन्द्रराज गोसाइँ, इन्द्रमाया श्रेष्ठ, वेलीमाया घले, रिना गुरुङ, डा। राजेन्द्रमान श्रेष्ठ लगायतले कोरोना भाइरस संक्रमणको जोखिमविरुद्ध पूर्वतयारीका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।

संशोधन विधेयक छलफलका लागि समितिमा

स्थानीय तहका पदाधिकारी तथा सदस्यको सेवा सुविधाको लागि बनेको ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलको लागि प्रदेश मामिला समितिमा पठाइएको छ ।

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री शालीकराम जम्कट्टेलले संशोधन विधेयक समितिमा छलफलका लागि सभामा पेश गरेका थिए । सभामुख सानुकुमार श्रेष्ठले ध्वनि मतका आधारमा उक्त विधेयक दफावार छलफलका लागि समिति पठाएका हुन् । प्रदेश सभाको बैठक भोलि ११ बजेसम्मको लागि स्थगित भएको छ ।