Bagmati Samachar Logo

७० करोड प्रकरण छानविन गर्न अख्तियारलाई निर्देशन

३० फागुन । काठमाडौं । लेखा समितिले सेक्युरिटी प्रिन्टिङ्ग प्रेस खरिद प्रक्रियाको अनियमितताको छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । जीटुजी प्रक्रियाबाट खरिद गर्न थालिएको सेक्युरिटी प्रिन्टिङ्ग प्रेसमा अनियमितता गर्न थालिएको उजुरीपछि लेखा समितिले छलफल सुरु गरेको थियो ।

समितिका केही सदस्यले लेखाले अध्ययन गरेर अख्तियारलाई निर्देशन दिनुपर्ने माग गरेका थिए । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासँग जोडिएको अनियमितताको अडियो टेप सार्वजनिक भएसँगै विवादित बनेको मुद्दामाथि लेखा समितिले यस्तो निर्णय गरेको हो ।

यस विषयमा अनियमितता भएको विषय सार्वजनिक भएको सवालमा अख्तियारबाटै अनुसन्धान गरिनु उपयुक्त हुने राय आएको भन्दै सदस्य विरोध खतिवडा, मीनेन्द्र रिजाललगायतले निर्देशनको माग गरेका थिए ।

समितिमा अधिकांश सांसदहरुले उक्त जीटुजी प्रिन्टिङ्ग प्रेस खरिद प्रक्रिया तत्काल रद्द गरी उक्त मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जिम्मा लगाउनु पर्ने माग राखेका थिए । सोहीअनुरुप अख्तियारलाई अनुसन्धान गर्न निर्देशन दिएको हो ।

अडियो टेप सार्वजनिक भएलगतै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिइसकेका छन् ।