Bagmati Samachar Logo

किशोरी अपहरण अभियोगमा विप्लव नेतृत्वका १४ जना कार्यकर्ता पक्राउ

२९ फागुन । काठमाडौं । १५ वर्षीया एक किशोरीलाई अपहरण गरेको अभियोगमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका १४ जना कार्यकर्ता पक्राउ परेका छन् । उनीहरूलाई उदयपुर र सिरहा जिल्लाको सीमामा पर्ने कटारी नगरपालिका– १ बाट पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा ५ जना महिला र ९ जना पुरुष रहेको उदयपुर प्रहरीले बताएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ५ चिसापानीबाट अपरहणमा परेकी १५ वर्षीया करिना मोक्तानको प्रहरीले उद्धार गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ३ थान पेस्तोल र ११ वटा बमसमेत बरामद गरेको बताएको छ ।

प्रस्तावित अतिरिक्त महानिरीक्षक (एआईजी) तथा प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार उनीहरूले किशोरीलाई अपहरण गरेको र सोही अपरेसनका क्रममा पक्राउ परेको बताए ।

प्रारम्भिक अनुसन्धानमा अपहरणमा परेकी बालिकालाई लडाकू बनाउने उद्देश्य देखिएको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले बताए । पक्राउ परेका १४ जना माथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।