Swornakshar Logo

पूर्व पंचहरुको एकताः तीन अध्यक्ष, तीन लक्ष्य

काठमाडौं । २८ फागुन । पूर्वपञ्च पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी .संयुक्त)बीच बुधबार पार्टी एकता घोषणा भयो ।

१५ जेठ २०४७ सालमा निर्दलीय पञ्चायती व्यवस्थामा वारम्वार प्रधानमन्त्री भएका सुर्यवहादुर थापा र लोकेन्द्र बहादुर चन्दले स्थापना गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी ६ पटकसम्म जुट्दै र फुट्दै अहिले पुनः एकतामा जुटेका हुन् ।

वुधबार राष्ट्रिय सभाको हलमा आयोजित एकता सभामा कमल थापा नेतृत्वको राप्रपा र पशुपति शम्शेर जबरा तथा डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच एकता हिन्दुधर्मालम्बीको पवित्र ग्रन्थ गीतालाई साक्षी राखेर गरियो ।

अन्तिम राणा प्रधानमन्त्री मोहन शम्शेरका नाती अर्थात नाति जर्सावको पहिचान बनाएका पशुपति शम्शेर जबराले कार्यकर्ताको सुझाव र अन्य शुभेच्छुकको दबाबका कारण आफूहरुले एकता गरेको बताए ।

राणाले भने, ‘हालको संविधान जारी गर्दा चार राजनीतिक पार्टीमध्ये मैले नेतृत्व गरेको राप्रपाले पनि स्वामित्व लिन्छ । असन्तुष्टिका बावजुद पनि संविधान जारी गर्न भूमिका खेलेकाले यो संविधानलाई प्रजातन्त्रवादीको हैसियतले स्वीकारेकै हो ।’

राणाले संविधानलाई स्वीकार्दै पार्टी एकता गरेको दावी गरिरहेपनि अर्का अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले भने सनातन हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था हाम्रो लक्ष्य हो, गणतन्त्रको नाममा राष्ट्रपति कुनै एक पार्टीको पनि गुटको हुने व्यवस्थालाई स्वीकार्न नसकिने बताए ।

लोहनीले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था वहाली गर्न हालको राप्रपाको शक्तिले सम्भव नहुने भएकाले संविधान संशोधन गर्न दुई तिहाइको जनमत ल्याउने पार्टीको लक्ष्य रहेको वताए ।

अर्का अध्यक्ष कमल थापाले संघीयता र गणतन्त्रको नाममा सत्तारुढ दल नेकपाले मुलुकमा भ्रष्टाचार र अराजकता निम्त्याएको र त्यसलाई रोक्न प्रमुख प्रतिपक्षी दल कांग्रेसले भूमिका खेल्न नसकी मतियारको भूमिका खेलेको अरोप लगाए ।

थापाले अबको लक्ष्य नेकपा र कांग्रेसलाई जनमतबाट पराजित गरी देश हाँक्ने शक्ति प्राप्त गर्ने गरी संगठन परिचालित गर्ने बताए ।

अध्यक्ष राणाले संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको विषयमा कुनै धारणा राखेनन् ।