Swornakshar Logo

प्रदेश सांसद रावललाई ४ दिन थुनामा राख्न कैलाली जिल्ला अदालतको अनुमति

२२ फागुन । काठमाडौं । कैलाली जिल्ला अदालतले सुदूरपश्चिम प्रदेशका नेकपा सांसद अक्कलबहादुर रावललाई ४ दिन थुनामा राख्न अनुमति दिएको छ । बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका सांसद रावललाई बिहीबार अनुसन्धानका लागि ४ दिन थुनामा राख्न अदालतले अनुमति दिएको हो ।

अछाम क्षेत्र नम्बर २ (क) बाट निर्वाचित प्रदेश सांसद रावलमाथि धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की एक महिलामाथि बलात्कार प्रयास गरेको आरोप लागेको छ ।

सांसद रावलमाथि पीडित भनिएकी महिलाले केही दिन पहिले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएकी हुन् । रावल बुधबार उजुरीका आधारमा पक्राउ परेका थिए । प्रहरीका अनुसार घटना गत माघ २१ गतेकै भएपनि ढिलागरी उजुरी परेको थियो ।