Swornakshar Logo

मलाई आत्मसमर्पण गराउन नेपाल ट्रस्टले झुटो प्रचार गर्‍योः जनार्दन शर्मा

१५ फागुन । काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले सरकारले आफ्नो चरित्र हत्या गर्ने र तर्साउने उद्देश्यले नेपाल ट्रस्टबाट श्वेतपत्र जारी गरेको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै शर्माले ३० असोज २०७४ मा आफूले गृहमन्त्रीबाट राजीनामा दिएको तर नेपाल ट्रस्टले श्वेतपत्र भन्दै सार्वजनिक गरेको विवरणमा १३ कात्तिक २०७४ मा गृहमन्त्रीका हैसियतले शर्माले निर्णय गरेको भनेर दाबी गर्नु झुटो भएको बताए ।

त्यसबेला म गृहमन्त्री नै छैन, मैले कसरी गृहमन्त्रीको हैसियतले नेपाल ट्रस्टको विषयमा निर्णय गरेँ ?, शर्माले भने, मलाई के तर्साउन खोजिएको हो ? मलाई आत्मसमर्पण गराउन खोजेको हो ? म आत्मसमर्पण गर्ने मान्छे होइन ।

शर्माले सरकारका मान्छे र आफूबीच विश्वासको सङ्कट हुने गरी नेपाल ट्रस्टको श्वेतपत्रमा आफूलाई राखिएको भन्दै आपत्ति जनाए । नभएको मान्छेको नाम लेखेर मिडियाबाजी किन गरियो ? मुख्यसचिवले मेरो संलग्नता छैन भन्दाभन्दै किन नाम लेखियो’, उनले भने, ‘सकारात्मक रूपमा अघि बढेको सरकारको साथीलाई सहयोग गर्दागर्दै ममाथि यस्तो किन आयो ?

शर्माले नेपाल ट्रस्टले हालसम्म कानुन देखाएर गरिएका सबै सम्झौतालाई रद्द गरी सबै सम्पत्ति फिर्ता गरी नयाँ ढंगले सम्झौता गर्न माग पनि गरे ।

उनले श्वेतपत्रमा झुटो विवरण ल्याउने काम भएकाले त्यसलाई अश्वेतपत्र भनी नामकरण गर्नुपर्ने सुझाव पनि दिए । नेपाल ट्रस्टले थामसेर्कुसँग सम्झौता गरी लिजमा सम्पत्ति दिन निर्णय गर्दा आफूले कहाँ हस्ताक्षर गरेँ भनेर तथ्य खोज्दा ट्रस्टका कर्मचारीले माइन्युट नदिएको शर्माले बताए ।

तत्कालीन गृहसचिव लोकदर्शन रेग्मीलाई आफूले ‘थाहा नपाएर सही गरेँ कि ? भन्दा मुख्य सचिवले होइन’ भनेर जानकारी दिएको शर्माले बताए ।

शर्माले सरकार दलालको घेराबाट मुक्त हुनुपर्छ भन्ने मान्यता रहेकै कारण सरकारले आफूलाई आत्मसमर्पण गराउन खोजेको आरोप लगाए ।