Swornakshar Logo

पार्टी शान्त भएको दिन पार्टी रहँदैन, पार्टी गडगडाउने खोलाजस्तो हुनुपर्छः प्रचण्ड

१५ फागुन । काठमाडौं । बिहीबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजधानीमा नेकपाको बागमती प्रदेशका नेता कार्यकर्तालाई प्रशिक्षण दिँदै पार्टी भनेको गडगडाहट तरिकाले बग्ने खोलाजस्तो हुनुपर्ने बताएका छन् ।

उनले भने, कम्युनिस्ट पार्टी भनेको गडगडाउने खोलाजस्तो हुन्छ । कैयौँलाई लाग्छ पार्टी शान्त भइदिए हुन्थ्यो । खुरुखुरु नेताहरू मिलेर हिँडे हुन्थ्यो । तर, जुन दिन यो पार्टी शान्त भयो, त्यो दिन पार्टी पार्टी रहँदैन । पार्टी शान्त भएपछि साम्यवाद आइसक्छ ।

उनले कम्युनिस्ट पार्टीमा वादविवाद हुनु अन्यथा नभएको जिकिर गर्दै भने, साम्यवाद नआउन्जेल पार्टी बन्ने भत्कने काम भइरहन्छ । यसबाट आत्तिनु हुँदैन ।

नेकपामा तीव्र विवाद बढेको समयमा भएको उक्त प्रशिक्षणमा प्रचण्डले आआफ्नो इतिहास पढ्न नेता कार्यकर्तालाई सुझाए । उनले भने, आज पार्टी एकता भएर यहाँसम्म आइपुग्दा को कुन जातका हौँ, कसका सन्तान हौँ भनेर एक पटक सबैले इतिहास पढ्न आवश्यक छ ।

उनले आफू र मदन भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलनमा १०–१० वर्ष फरकफरक धार प्रयोग गरेको बताए । उनले भने, मदन भण्डारीले जनताको बहुदलीय जनवादको अभ्यास गरेर संसदीय राजनीतिको नेतृत्व गर्नुभयो । मैले जनयुद्धको नेतृत्व गरेँ । हामी दुवै जनाले नेपाली कम्युनिस्ट आन्दोलनलाई फरक तरिकाले अगाडि बढायौँ ।

पार्टीमा विवाद भइरहने, आजभोलि के हो के भन्ने लागेको होला, हामी यहाँ सानो दुःखले आइपुगेका होइनौँ । नेता कार्यकर्ता जनताको रगत पसिनाको खोलो बगाएर यहाँसम्म आइपुगेका हौँ, पार्टी विभाजन हुन दिन्नौँ । यसका लागि तपाईंहरूको सहयोग चाहिन्छ, उनले भने ।

उनले भने, हामी दाह्रा नङ्ग्रा भाँचिएर एक भएका हौँ त्यसैले कसैले कसैलाई होलो होचो गर्नु हुदैन । पहिलो संविधासभामा हामी ठूलो भयौँ । दोस्रो संविधानसभामा एमाले ठूलो भयो । सबैले स्वाद खाइसकेका छौँ ।