मेरो नाममा हालेको उजुरी भ्रष्ट उजुरी होः प्रधानमन्त्री ओली
१५ फागुन । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको बागमती प्रदेशका अगुवा कार्यकर्ताको राजधानीमा भएको प्रशिक्षण कार्यक्रममा बोल्दै आफ्नो नाममा अख्तियारमा भ्रष्टाचार गरेको भन्दै उजुरी हाल्नु भनेको उजुरी नै भ्रष्ट भएको बताए ।
प्रशिक्षण कार्यक्रममा आफूले भ्रष्टाचार नगर्ने र गर्नेलाई नछाड्ने अभियान चलाएको समयमा आफ्नाविरुद्ध अख्तियारमा मुद्दा हाल्नु भनेको उजुरी आफैँमा भ्रष्ट भएको बताए ।
पूर्व सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाको बचाउ गर्दै ओलीले बाँस्कोटामाथि बित्थाको आरोप लगाएको बताए । उनले भने, टेप प्रकरण अनधिकृत हो तर पनि अरूले लगाएको आरोपमा हाम्रा साथीहरूले होमा हो मिलाउँछन् । उनले आफ्नो कुनै मिडिया नभएको र भएका मिडिया पनि आफ्नै नेता र पार्टीको बदनाम गर्ने काममा लागेका बताए ।
उनले भने, पार्टीको कुनै मिडिया छैन । नेताहरूले चलाएका मिडिया आफ्नै नेता र पार्टीका विरुद्ध समाचार लेख्छन् । यिनको हिसाब किताब हुन्छ ।
उनले नेताहरूको चरित्र हत्या गर्न सामूहिक प्रयास भइरहँदा पनि कुनै नेताका मिडियाले बचाउ नगरेको भन्दै आक्रोश पोखे ।आफ्नै नेतामाथि भ्रष्टाचारको आरोप लाग्दा बचाउ नगर्ने उल्टै क्या मजा आयो भन्दै बोल्ने गरेकामा असन्तुष्टि पनि व्यक्त गरे ।
उनले असन्तुष्टि व्यक्त गर्दै भने, अरू पार्टीकाहरू भ्रष्टहरूलाई समातेर जेल हाल्दा संसद अवरुद्ध गर्छन् । माइतीघरमा विरोध प्रदर्शन गर्छन् । हाम्राहरू आरोप लाग्दा पनि क्या गजब भयो भन्दै खुसी हुन्छन् ।
प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिनमा काटेको केकको विरोध गर्नु कुनै तुक नभएको बताउँदै भने, कांग्रेसले केकमा राष्ट्रवाद खोज्यो । पत्रकारले जनताले विकास हुँदा बाजागाजा बजाएर केक काटेको, नाचेको समाचार लेख्दैनन् । कसले केक बोकेर गयो, कसले कति जनालाई भात खुवायो भनेर लेख्छन् ।
उनले आफ्नो जन्मदिन मनाउँदाको विरोध गर्नुअघि संसारभरको प्रचलन हेर्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्: